Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


रुकुमपूर्वको पुथाउत्तरगङ्गाका दुई क्षेत्रलाई सिस्नेमा गाभ्न स्थानीयको माग


0
Shares

जीवन खड्का, रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–८ र वडा नं. ७ को खारखोलालाई सिस्ने गाउँपालिकामा समायोजन गर्न स्थानीयवासीले माग गरेका छन्।

भौगोलिक रूपमा गाउँपालिकाको केन्द्र तकसेरा पुग्न टाढा र असहज हुने भएकाले आफूहरूलाई पायक पर्ने सिस्ने गाउँपालिकामा समेट्न सहजीकरण गरिदिन स्थानीयवासीले सोमबार जिल्ला समन्वय समिति रुकुमपूर्वमा मागपत्र बुझाएका हुन्।

वडा नं. ८ र खारखोलाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीको संयुक्त बैठकको निर्णयअनुसार मागपत्र पेस गरिएको हो।

स्थानीयवासीका अनुसार २०८३ साउन १३ गते गाउँपालिकाले खारखोलालाई वडा नं. ८ मा समायोजन गरी उक्त वडालाई सिस्ने गाउँपालिकामा गाभ्ने निर्णय गरेको थियो। तर, पछिल्लो गाउँसभाले उक्त निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेपछि स्थानीयवासी पुनः सहजीकरणका लागि जिल्ला समन्वय समितिमा पुगेका हुन्।

उक्त निर्णय कार्यान्वयन नभए कानुनी प्रक्रिया अघि बढाउने स्थानीयवासीले बताएका छन्।

जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले स्थानीयवासीको चाहनालाई गाउँपालिकाले प्राथमिकता दिनुपर्ने बताउँदै समस्या समाधानका लागि समितिले पनि सहजीकरण गर्ने जानकारी दिनुभएको छ। उहाँले गाउँपालिकामा पुनः माग पेस गरी छलफलमार्फत विवाद टुङ्ग्याउन आग्रह गर्नुभएको छ ।