काठमाडौं । वागमती प्रदेशको मनकामना स्कुल र मधेस प्रदेशको जनज्योति सेकेण्डरी स्कुल एशियन पेन्ट्स अन्तरविद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल च्याम्पियनसिपको च्याम्पियन भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमवार भएको फाइनलमा मनकामना ब्वाइजतर्फ र मधेश गर्ल्सतर्फ च्याम्पियन भएको हो । देशभरबाट कुल ३२७ वटा विद्यालयले जिल्ला र प्रदेशमा छनोट हुँदै राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । तीमध्येबाट मधेशको जनज्योति गर्ल्समा र बागमतीको मनकामना ब्वाइजतर्फ च्याम्पियन भए ।
गर्ल्सतर्फ भएको फाइनलमा मधेशको जनज्योति सेकेन्डरीले सुदूरपश्चिम प्रदेशको श्री जीवनज्योति मावीलाई ७–२ गोलअन्तरले हरायो । मधेशको जनज्योतिका लागि अनिता रानामगरले ह्याट्रिक गरिन् ।
विजेता राईले समान दुई तथा दीक्षा रानापाल र रकिशा दंगालले समान एक गोल गरे । सुदूरपश्चिमकी बिबिशा बिष्टले दुई गोल फर्काए पनि आफ्नो टोलीको हार टार्न सकिनन् ।
ब्वाइजतर्फ फाइनलमा बागमतीको मनकामनाले गण्डकी प्रदेशको गुरुकुल विद्यासदनलाई २–० ले हरायो । खेल सकिन एक मिनेट बाँकी छँदा दुई गोल बेहोरेपछि गण्डकी उपाधिबाट बन्चित भयो । विजेता टोलीले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङका साथै महिला टोलीकी पूर्वकप्तान अञ्जिला तुम्बाप्पो सुब्बा लगायतले पुरस्कृत गरे ।









प्रतिक्रिया दिनुहोस्