Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


लिग टु क्रिकेटमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै


130
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मस्कटमा हुने खेलमा दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

यसअघिको खेलमा ओमानले क्यानडालाई ४१ रनले पराजित गरेको थियो भने नेपालले क्यानडामाथि २१ रनको जित हासिल गरेको थियो।

लिग टुको अंकतालिकामा ३३ अंकसहित ओमान चौथो स्थानमा छ। नेपाल भने २६ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ। आजको खेलमा ओमानलाई हराउन सके नेपालले सातौँ स्थानमा रहेको क्यानडासँगको अंकदूरी तीन अंकमा पुर्‍याउनेछ।

लिग टुको शीर्ष ६ भित्र स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको नेपालका लागि ओमानविरुद्धको खेल महत्वपूर्ण मानिएको छ। ओमानसँगको खेलपछि नेपालले यस प्रतियोगितामा थप दुई खेल खेल्न बाँकी छ।

लिग चरणमा शीर्ष चारभित्र रहँदै विश्वकपको ग्लोबल छनोटमा सीधै प्रवेश गर्ने नेपालको सम्भावना भने समाप्त भइसकेको छ।