काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रश्तावित नेपाली राजदुत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कुटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सोमवार संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै पूर्वप्रधानसेनापति समेत रहनुभएका जबराले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा विस्तार गर्ने अठोट व्यक्त गर्नुभएको हो ।
जबराले आफूलाई सेनाको पूर्व नेतृत्वकर्ताका रूपमा मात्र सिमित नराखी नेपाल सरकार र नेपाली जनताको प्रतिनिधि भएको बताउनुभयो । सन् १८१६ देखि कायम नेपाल–बेलायत कुटनीतिक सम्बन्धलाई २१ औँ शताब्दीको आवश्यकताअनुसार नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने गरी अघि बढाउने उहाँले बताउनुभयो ।
जबराले आफ्नो कार्यकालका लागि पाँच मुख्य प्राथमिकता तय गर्नुभएको छ । पहिलो, आर्थिक कुटनीति अन्तर्गत बेलायती लगानी, प्रविधि र विशेषज्ञतालाई नेपालको विकाससँग जोड्ने, दोस्रो, हरित अर्थतन्त्र, हिमाली जैविक विविधता र वातावरणीय संरक्षणका क्षेत्रमा साझेदारी गर्ने, तेस्रो, बेलायतस्थित नेपाली समुदायलाई नेपालको विकासका लागि ‘सेतु’का रूपमा परिचालन गर्ने,चौथो, संसदीय तथा सार्वजनिक कूटनीतिलाई व्यापक बनाउने, र पाँचौँ, ब्रिटिस गोर्खा सैनिकसँग जोडिएका विषयहरूलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्राथमिकता रहेका छन् ।
आफ्नो लामो सैनिक सेवाकाल र अनुभवले बेलायतसँगको सम्बन्धलाई थप उचाईमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘संस्थागत निरन्तरता र राष्ट्रिय हितको प्रवद्र्धन नै मेरो मुख्य ध्येय हुनेछ ।’
बेलायतसँगको गोरखा सम्बन्धलाई सम्मान गर्दै उहाँले आफ्नो सैन्य पृष्ठभूमि र रोयल मिलिटरी एकेडेमीमा तालिम लिएको अनुभवले दुई देशबीचको सैन्य कुटनीतिमा सहजता ल्याउने संकेत गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्