Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


‘दक्षिण एसिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो’: प्रश्तावित राजदूत पाण्डे


143
Shares

काठमाडौं । भारतका लागि प्रश्तावित नेपाली राजदुत डा. निश्चलनाथ पाण्डेले नेपालको कुटनीतिलाई असफल भन्न नमिल्ने स्पष्ट पार्नुभएको छ ।

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्ना दृष्टिकोण र कार्ययोजना प्रश्तुत गर्दै उहाँले सिङ्गो दक्षिण एशिया बेलायती उपनिवेशमा रहँदा समेत नेपाल अविभाज्य र स्वतन्त्र रहनु नै मुलुकको कुटनीतिक सफलताको ऐतिहासिक प्रमाण भएको दाबी गर्नुभएको हो ।

संसदीय सुनुवाई समितिका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै डा. पाण्डेले विकास र पूर्वाधार निर्माण तथा राजनीतिक स्थिरतामा कमजोरी देखिए पनि नेपालको सार्वभौमिक कुटनीति कहिल्यै असफल नभएको बताउनुभयो । उहाँले नेपालजस्तो सानो राष्ट्र आफ्नो नक्सा, झण्डा र राष्ट्रिय पहिचानका सवालमा स्वाभाविक रूपमै संवेदनशील रहने उल्लेख गर्दै कुटनीतिक वार्ताहरूमा पर्याप्त गृहकार्य र परिपक्वता आवश्यक पर्ने बताउनुभयो ।

वीपी कोईराला भारत–नेपाल फाउण्डेसन (बीपीकेएफ) को प्रभावकारिता घट्दै गएको विषयमा प्रष्टीकरण दिँदै डा. पाण्डेले यस संयन्त्रलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विगतमा नेपाल सरकारको तर्फबाट बजेट विनियोजन कम हुँदा भारतको तुलनामा नेपाली पक्षका कार्यक्रमहरू ओझेलमा परेको स्वीकार गर्दै उहाँले राष्ट्रिय प्राथमिकताका आधारमा फाउण्डेसनका गतिविधिहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यशैली र व्यवस्थापनमा व्यापक सुधार ल्याउने अठोट व्यक्त गर्दै डा। पाण्डेले आधारभुत सूचना प्रविधिमा समेत कमजोरी देखिएको उल्लेख गर्नुभयो ।

दुतावासको आधिकारिक वेबसाइटमा पूर्वराजदूतहरूको नामावलीसमेत नहुनु दुःखद् भएको भन्दै उनले कुनै अतिरिक्त बजेटबिनै सुधार गर्न सकिने प्रशासनिक कामहरू तत्काल अघि बढाइने जानकारी दिनुभयो ।

उहाँले आफ्नो निष्ठा, अनुभव, ज्ञान र सम्बन्ध सञ्जाल (नेटवर्क) को अधिकतम उपयोग गरी दुतावासको कार्यक्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।