२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अविरल वर्षाले पूर्व-पश्चिम राजमार्ग आधा दर्जन स्थानमा अवरुद्ध, देवदहमा पुल नै भासियो


0
Shares

काठमाडौं । अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ घोडाहको पुल भासिएपछि सडक अवरुद्ध बनेको छ ।

पुल भासिएपछि भैरहवा–परासी हुँदै सवारी साधन आवागमन गराइएको प्रहरीले जनाएको छ । यस्तै पूर्व–पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ ।

गएराती बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । डाइभर्सन पूर्ण रूपमा क्षति भएको र निरन्तरको झरीले मर्मत गर्न कठिनाइ भएको छ ।

यस्तै दाउन्नेमा पनि ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको भने नवलपुरको गैँडाकोट, थुम्सी, भेडाबारीमा पनि बाढीले डाइभर्सन बगाएको छ ।

नवलपुरका थुप्रै स्थानमा बाढीले डुबाएको छ । यता, नारायणगढ–मुग्लिङ सडकखण्ड पनि गएरातीदेखि अवरुद्ध रहेको छ ।

भरतपुर महानगरपालिका– २९ सेती दोभान र पाँचकिलोमा हिजो राती खसेको पहिरो सडक अवरुद्ध भएको र विहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त सडकको पछिल्लो जानकारी लिएर मात्रै यात्रामा निस्कन पनि सर्वसाधारण र सवारी चालकहरुलाई आग्रह गरेको छ ।