काठमाडौं । काठमाडौं महानरगपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदुषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।
बिहीवार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जाडोयाम बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदुषण समेत बढ्दै जाने उल्लेख गर्दै यसको नियन्त्रणको कार्ययोजना निर्माणको गृहकार्य भइरहेको बताउनुभयो । उक्त कार्ययोजना यही मंसिर ७ गतेदेखि शुरु हुने जलवायु कार्य सप्ताहमा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
बिहीवार काठमाडौं विश्वकै तेस्रो धेरै वायु प्रदुषित शहरको सूचीमा रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्था मानव स्वास्थ्यका लागि चिन्ताजनक विषय भएको बताउनुभयो । उहाँले काठमाडौं उपत्याको वायु प्रदुषण नियन्त्रणका लागि छिमेकी स्थानीय तहहरु, प्रदेश र संघ सरकारसँगको समन्वय र सहकार्य गरिने बताउनुभयो । साथै, उहाँले जलवायु परिवर्तन न्युनिकरण तथा अनुकूलनका उपायबारे सरोकारवालाहरुसँग छलफल गरेर निचोड निकाल्न जलवायु कार्य सप्ताहको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनका उपाय तय गर्न उक्त सप्ताह महत्वपूर्ण हुने डंगोलको भनाइ छ । उहाँले ‘रिचार्ज काठमाडौं’ अभियान पनि सँगसँगै अघि बढाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हरेक दिन सातै दिन सातवटा फरक फरक थिममा हामीले काम गर्दैछौँ । जलवायु परिवर्तनका विभिन्न आयाम तथा पक्षहरूसँगै जोडेर हेर्न जरूरी छ । र ती पक्षहरूलाई समग्र रूपमा हामीले सातवटा डिफरेन्ट क्लस्टर, डिफरेन्ट क्याटेगरी, डिफरेन्ट डेज गरेर हामीले जलवायु कार्य गर्न लागेका हौँ । यसमा हामीले जतिसक्दो धेरै सरोकारवाला निकायहरूलाई एकै ठाउँमा ल्याएर विमर्श गर्छौँ । हामीले जलवायु परिवर्तनका क्षेत्रमा तत्काल गर्न सक्ने कामहरु के के हुन् ? र ती कामहरु कसरी गर्ने भनेर निष्कर्ष निकाल्छौँ । प्राइभेट सेक्टर, पब्लिक सेक्टर, नागरिक समाज वैज्ञानिक, कृषक सबैजना एकै ठाउँमा बसेर हामीले यो सप्ताहव्यापी रूपमा कार्यक्रमहरू गर्दैछौँ । काठमाडौँ महानगरपालिकाले पनि केही जलवायुसँग सम्बन्धित इनिसिएटिभ्सहरूको थालनी गर्दैछौँ । केही समय अगाडि पनि हामीले भनेका थियौँ रीचार्ज काठमाडौँ क्याम्पेन काठमाडौँ महानगरपालिकाले लन्च गर्छ भनेर । हामीले एयर पोल्युसनको आजै मात्र पनि कुरा गर्ने हो भने पोल्युटेड सिटीजहरू एयर पोल्युसनबाट सबैभन्दा प्रभावित, नकारात्मक प्रभाव परेको पोल्युटेड सिटीजहरूमा हिजो पाँचौँ नम्बरमा, आज तेस्रो नम्बरमा पुगेको छ । यो हाम्रो लागि सुखद समाचार होइन । जाडो महिना बढ्न थालेपछि चिसोसँगसँगै एयर पोल्युसनको कुरा पनि सँगै आउने गर्दछ । र यी कुराहरूलाई पनि सम्बोधन गर्ने गरी महानगरपालिकाले एयर पोल्युसन एड्रेस गर्ने गरी एक्सन प्लान पनि हामीले यही बेलामा नै सार्वजनिक गर्नेछौँ । जसमा हामीले काठमाडौँ महानगरपालिकाले गर्ने प्रयासहरू, महानगरपालिकाले संस्थागत रूपमा गर्छ र सँगसँगै अरू पालिकाहरूसँग मिलेर, प्रदेश र संघ सरकारसँग मिलेर गर्नुपर्ने कामको योजना समेत सार्वजनिक गर्छौँ ।’
जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास, सहकार्यको थालानी गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको आयोजनामा मंसिर ७ गतेदेखि १३ गतेसम्म ‘काठमाडौँ जलवायु कार्य सप्ताह आयोजना हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्