सविना अछामे, खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधिविहीन बनेको छ। निर्वाचन आयोगले वडाध्यक्षसहित पाँच जना जनप्रतिनिधिको पद रिक्त हुने निर्णय गरेपछि वडा नेतृत्वविहीन भएको हो।
जनता समाजवादी पार्टीको चुनाव चिह्नबाट निर्वाचित वडाध्यक्ष मुगाधन राई, महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विश्वकर्मा तथा वडा सदस्यद्वय शहरमनि राई र रामधन राईको पद आयोगले बुधबार रिक्त गरेको हो।
दल त्याग गरेको भन्दै पार्टीबाट सिफारिस भएपछि आयोगले उनीहरूको पद खारेज गरेको हो। पद रिक्त भएसँगै बिहीबारदेखि वडाको कामकाजसमेत प्रभावित भएको छ।
नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईका अनुसार जनप्रतिनिधिविहीन अवस्थामा वडाको काम कसरी सञ्चालन गर्ने भन्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग राय मागिएको छ। मन्त्रालयबाट प्राप्त सुझावका आधारमा आगामी प्रक्रिया अघि बढाइने उनले बताए।
पद रिक्त भएका पाँच जनामध्ये केही तत्कालीन नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका भए पनि चुनावी तालमेलका क्रममा जसपाको चुनाव चिह्नबाट निर्वाचित भएका थिए। वडाध्यक्ष मुगाधन राई भने श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
निर्वाचन आयोगले खोटाङसहित विभिन्न जिल्लाका स्थानीय तहमा रहेका अन्य जनप्रतिनिधिको पदसमेत रिक्त गराएको छ। आयोगको निर्णयअनुसार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य वीरेन्द्र दर्नालको पद पनि रिक्त भएको छ।
त्यस्तै भोजपुर, उदयपुर, इलाम, सुनसरी, सिरहा र पर्साका विभिन्न स्थानीय तहका वडाध्यक्ष तथा उपप्रमुखको पदसमेत रिक्त गरिएको निर्वाचन आयोगले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्