Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


आगामी निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछः बादल


0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा राजनीतिक शक्तिबीच तिब्र प्रतिष्पर्धा हुने बताउनुभएको हो । थापाले घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष २०८४ निर्वाचन र चुनावी संघर्षको वर्ष हुने उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरूले आफ्नो राजनीतिक वर्चश्व कायम गर्न खोज्ने र त्यसको प्रतिवाद लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूले गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तह, प्रदेश सभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा आफूहरूले कायम राखेको राजनीतिक प्रभाव जोगाउन एमालेले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताउनुभयो । त्यसका लागि पार्टीभित्रको एकता सुदृढ गर्न र राजनीतिक प्रतिस्पर्धीका गतिविधिप्रति सचेत रहन उहाँले नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।

थापाले पपुलिस्ट शक्तिहरूले देशभक्त तथा लोकतान्त्रिक दलहरूमा विभाजन ल्याउने, जनतामा भ्रम फैलाउने र सुशासन तथा सम्पती छानबिनको नाममा राजनीतिक दमन बढाउने प्रयास गरिरहेको आरोपसमेत लगाउनुभयो । उहाँले आगामी निर्वाचनलाई सामान्य चुनावका रूपमा लिन नहुने भन्दै नीति, नेतृत्व र जनता राजनीतिक संघर्षका मुख्य आधार भएको बताउनु भयो । विगतको निर्वाचनमा एमालेले आफ्नो प्रमुख प्रतिस्पर्धी पहिचान गर्न र आफ्ना कमजोरी बुझ्न नसकेको समीक्षा गर्दै उहाँले आगामी निर्वाचनका लागि पार्टीले रणनीतिक तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आगामी निर्वाचन असामान्य राजनीतिक परिस्थितिमा हुँदैछ । फागुनको घटनाक्रम दोहोरिन्छ वा त्यसमा क्रमभङ्ग हुन्छ भन्ने नै अहिलेको प्रमुख प्रश्न हो । घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए २०८४ साल निर्वाचन र राजनीतिक संघर्षको वर्ष हुनेछ । आगामी निर्वाचनमा पपुलिस्ट तथा फासीवादी भनिएका शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीच प्रतिस्पर्धा हुने राजनीतिक आकलन गरिएको छ । संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा दुईतिहाइ बहुमत आवश्यक पर्ने भएकाले आगामी निर्वाचनको राजनीतिक महत्त्व अझ बढेको छ । यस परिस्थितिमा स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा आफ्नो प्रतिनिधित्व कायम राख्ने चुनौती रहेको छ। त्यसका लागि हामीले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्न, आन्तरिक एकता सुदृढ बनाउन र राजनीतिक घटनाक्रमप्रति सचेत रहन आवश्यक छ । पपुलिस्ट शक्तिहरूले लोकतान्त्रिक तथा प्रगतिशील दलहरूलाई विभाजित गर्ने, जनतामा भ्रम सिर्जना गर्ने र सुशासन तथा सम्पती छानबिनका नाममा राजनीतिक दबाब बढाउने प्रयास गरिरहेको वक्ताको आरोप छ । कमरेडहरू, कुनै पनि राजनीतिक संघर्षमा नीति, नेतृत्व र जनता मुख्य आधार हुन्। विगतको निर्वाचनमा हामीले आफ्ना प्रमुख राजनीतिक प्रतिस्पर्धीलाई सही रूपमा पहिचान गर्न सकेनौँ र आफ्नै कमजोरीहरूको पनि पर्याप्त समीक्षा गर्न सकेनौँ । अब ती कमजोरी सच्याउँदै एकता, स्पष्ट नीति र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिन आवश्यक छ ।’

चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै थापाले आफू र प्रतिष्पर्धी दुवैलाई चिन्नसके मात्रै राजनीतिक संघर्षमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

Skip This