Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


झापाको बाह्रदशी दुर्घटनामा ज्यान गुमाउने दुई युवकको पहिचान खुल्यो


0
Shares

सुरेन्द्र भण्डारी, झापा । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिन र मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुई युवकको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–५ चकचकीका गोपाल ताजपुरिया र वडा नम्बर २ बुट्टाबारीका अशोक राजवंशी रहेको प्रहरीले पुष्टि गरेको छ ।

बुधबार राति भएको दुर्घटनामा दुवै युवकको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा उनीहरूको अनुहारसमेत पहिचान गर्न कठिन हुने गरी चोट लागेको थियो । त्यसैले प्रहरीले सुरुमा मृतकको सनाखत गर्न सकेको थिएन ।

प्रहरीका अनुसार राति करिब १०ः४० बजे बाह्रदशी–५ को खटखटी टोलस्थित चारपाने–राजगढ सडकखण्डमा दुर्घटना भएको थियो । राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००२ त १०४० नम्बरको धान काट्ने मेसिनसँग ठोक्किएको थियो ।

दुर्घटनालगत्तै धान काट्ने मेसिनका चालक सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले राति १२ः४५ बजे आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल र धान काट्ने मेसिन पनि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

फरार चालकको खोजी गर्नुका साथै दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This