Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ


0
Shares

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी ठगी तथा संगठित अपराध गरेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित श्रम मन्त्रालयका पूर्वसचिव तथा उच्चपदस्थ कर्मचारी रहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा अघि बढाइएको अनुसन्धानका क्रममा उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाइएको छ।

अनुसन्धानका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको श्रम सम्झौता (एमओयू) विपरीत नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरिएको र उक्त रकममध्ये अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ तथा बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेशी मुद्रा अपचलन भएको आरोप छ।

अनुसन्धानमा श्रम सम्झौताको दायरा र कानुनी प्रक्रिया उल्लंघन गर्दै अधिकार क्षेत्र नाघेर गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय गरिएको आरोप लगाइएको छ। यसबाट मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रतिकूल प्रभाव परेको र संगठित समूहलाई आर्थिक लाभ पुगेको आशंका गरिएको छ।

त्यस्तै, जिम्मेवार पदमा रहेका व्यक्तिहरूले नेपाली श्रमिकमाथि भइरहेको भनिएको संगठित ठगी रोक्न आवश्यक कानुनी कदम नचालेको तथा आफ्नो पदीय जिम्मेवारी र कर्तव्यविपरीत कार्य गरेको आरोपसमेत अनुसन्धानमा उल्लेख छ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।

ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन मंसिर २ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

यस प्रकरणमा कैलाश खड्कासमेत प्रतिवादी रहेको मुद्दासँग सम्बन्धित गतिविधिमाथि अनुसन्धान भइरहेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

Skip This