Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


बर्दियाको जब्दीघाटमा ६७ करोडको लागतमा ४२० मिटर लामो पुल निर्माण हुने


0
Shares

केशव कोइराला, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ ।

पुल निर्माणका लागि सडक डिभिजन कार्यालय नेपालगञ्ज र चितवनस्थित एमआर एन्ड ग्रुपबीच ठेक्का सम्झौता भएको छ ।

६७ करोड ४५ लाख ६९ हजार रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने पुल दुई लेनको हुनेछ । ४२० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने पुल निर्माणको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सक्नुपर्नेछ ।

यसअघि पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल २०७२ सालको बाढीका कारण भासिएको थियो । त्यसपछि ठूला सवारीसाधनको आवागमन बन्द भएको थियो । २०७९ सालको बाढीले पुलका तीनवटा स्ल्याबसमेत बगाएपछि नदी वारपार गर्ने आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

हाल पुल नहुँदा स्थानीयवासी डुङ्गा र काठे पुलको सहारा लिएर शुल्क तिर्दै नदी वारपार गर्न बाध्य छन् । नयाँ पुल निर्माणको ठेक्का सम्झौता भएपछि लामो समयदेखि आवागमनको समस्या झेलिरहेका गुलरिया र बारबर्दियाका बासिन्दाले सहज यातायातको सुविधा पाउने अपेक्षा गरेका छन् ।

Skip This