काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कानुनविपरीत रहेको जिकिर गर्दै अदालतको ढोका ढकढक्याएका थिए।
सरकारले गत कात्तिक १८ गते उनलाई आईजीको पदबाट हटाएको थियो। त्यसको दुई दिनपछि अर्थात् कात्तिक २० गते उनले सर्वोच्चमा रिट दर्ता गराएका थिए।
रिटमाथि यसअघि कात्तिक ३० गते सुनुवाइ गर्ने तयारी भए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। अदालतको नियमित कामकाज सुरु भएपछि सर्वोच्च प्रशासनले बुधबारका लागि पुनः पेसी तोकेको हो।
एकल इजलासमा हुने प्रारम्भिक सुनुवाइपछि रिटको आगामी प्रक्रियाबारे निर्णय हुनेछ।
उता, कार्कीलाई पदमुक्त गरेकै दिन सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई बढुवा गरी प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको थियो।









प्रतिक्रिया दिनुहोस्