काठमाडौं । नेपाली सेनाको प्रवक्तामा राजेन्द्र श्रेष्ठ नियुक्त हुनुभएको छ ।
बिहीवार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित उक कार्यक्रममा सेनाले सहायक रथी राजेन्द्र श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको हो । नवनियुक्त प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली सेनाले सम्पादन गरिरहेको विकास निर्माण, विपद् व्यवस्थापन लगायतका कामबारे आम नागरिकलाई सूचित गराउन सञ्चार माध्यमसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भ्रामक समाचार र सूचना चिर्न समेत आफू जिम्मेवार रहने बताउनुभयो । श्रेष्ठले नेपाली सेना र नेपाली सञ्चारजगतको सम्बन्ध शुरुदेखि नै सौहार्दपूर्ण, व्यवसायिक र प्रगाढ रहँदै आएको उल्लेख गर्दै अगामी दिनमा समेत यो सम्बन्धलाई अझै प्रगाढ, पारदर्शी र प्रभावकारी बनाउने कार्य आफ्नो पहिलो प्राथमिकतामा रहने बताउनुभयो । उहाँले सैनिक गतिविधिसम्बन्धी सूचना प्रवाह प्रक्रियालाई थप सहज बनाउन भूमिका खेल्ने समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आम नागरिकको सूचनाको हक सुनिश्चित गर्नको लागि निवर्तमान सैनिक प्रवक्ताज्यूले खेल्नुभएको भूमिका, गर्नुभएको सहकार्य र समन्वयको उच्च प्रसंशा गर्न चाहान्छु । सञ्चारमाध्यमबाट नेपाली सेनाका गतिविधिहरु आम नागरिकसमक्ष पुर्याउनको लागि सहयोग गर्नुहुने सबै सञ्चार माध्यम र सञ्चारकर्मी साथिहरुलाई पनि धन्यावाद दिन चाहान्छु । नेपाली सेना र नेपाली सञ्चारजगतको सम्बन्ध शुरुदेखि नै सौहार्दपूर्ण, व्यवसायिक र प्रगाढ रहँदै आएको छ । अगामी दिनमा यो सम्बन्धलाई अझै प्रगाढ, पारदर्शी र प्रभावकारी बनाउने कार्य मेरो पहिलो प्राथमिकता हुनेछ । नेपाली सेनाले सम्पदान गरिरहेका विकास निर्माण, विपद् व्यवस्थापनबारे सूचना र आफ्नो अधिकार र कर्तव्यको परिधिभित्र रही सैनिक सूचना प्रवाह प्रक्रियालाई थप प्रभावकारी बनाउन समेत म प्रतिबद्ध रहेको छु ।’
श्रेष्ठ २०४८ मा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा प्रवेश गर्नुभएको हो । यसअघि समेत उहाँले सेनाका विभिन्न विभागमा रहेर जिम्मेवारी पुरा गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्