Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


दुई लाख बढी मतदाता थपिए : निर्वाचन आयोग


169
Shares

काठमाडाैं ।

निर्वाचन आयोगले २ लाख ९ हजार ५ सय ५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जनाएको छ ।

यो तथ्यांक हिजो सम्मको हो । हिजो एकै दिन २३ हजार ६ सय ३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ ।

जसमा १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्यले मंगलबार नाम दर्ता गराएका हुन् । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८ सय भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६–६ घण्टाका दरले दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

यसैबीच मतदाता नामावली संकलनको म्याद सकिन एक साता बाँकी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनको अवस्थाप्रति चासो ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई मतदाता नामावली संकलनको म्याद पुनरावलोकन गर्न आग्रह गर्दै पत्र समेत पठाउनुभएको हो ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएको छ । त्यसका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न यही कात्तिक ३० गतेसम्मको समय तोकिएको छ ।

मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेको तथ्यांकलाई मतदाता नामावली दर्ताका लागि प्रयोग गर्न मिल्ने गरी आवश्यक प्राविधिक एवम् कानुनी प्रक्रिया अगाडि बढाउन पनि पत्रमा उल्लेख गरिएको छ ।