काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ ।
पार्टीको केन्द्रिय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्ने अवसरका रूपमा एमालेले लिएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै भेलामा केन्द्रिय नेतृत्वदेखि पालिका तहसम्मका नेता तथा जनप्रतिनिधिको सहभागिता रहने बताउनुभयो ।
उहाँकाअनुसार पार्टीको इतिहासमा पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रिय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरिएको हो । सहभागी संख्याका आधारमा महाधिवेशनपछिको ठूलो कार्यक्रमका रूपमा भेलालाई लिइएको बताउनुभयो । भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।
आचार्यकाअनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी गर्नु, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता कायम गर्नु तथा वैचारिक र संगठनात्मक एकतालाई थप मजबुत बनाउनु हो । साथै मुलुकमा पछिल्लो समय देखिएको कुशासन, राजनीतिक अन्योल र निराशालाई चिर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य पनि भेलाले राखेको छ ।
भेलामा अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नुहुनेछ । उहाँले पार्टी केन्द्रिय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामका विषयमा पनि राजनीतिक तथा वैचारिक मार्गनिर्देशन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नुहुनेछ । भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रश्तुत गर्नुहुनेछ भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण काम तथा उपलब्धिहरूको समीक्षा प्रश्तुत गर्नुहुनेछ । महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण तथा स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपा एमालेको राष्ट्रिय भेला आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना हुँदैछ । भेलाको तयारी तथा उद्देश्यबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको हो । भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीले ललितपुरस्थित हाइटफिल्ड क्याटरिङ ब्याङ्क्वेटमा गर्नुहुनेछ । भेलाको मुख्य उद्देश्य पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्नु, आगामी स्थानीय तह निर्वाचनको तयारी गर्नु तथा पार्टीका दुई प्रमुख कार्यभार र १५ वटा कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको छ । साथै, मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे पार्टीको दृष्टिकोण स्पष्ट पार्दै जनतामा नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य राखिएको छ । भेलामा केन्द्रिय नेतृत्वदेखि पालिका तहसम्मका पार्टी कमिटी, जनप्रतिनिधि तथा जनसंगठनका प्रतिनिधिसहित ३ हजार ५१४ जनाको सहभागिता रहनेछ । भेलामा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अवस्था र पार्टीको भावी कार्यदिशाबारे सम्बोधन गर्नुहुनेछ । वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नुहुनेछ । त्यसैगरी उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले विभिन्न राजनीतिक, संगठनात्मक र निर्वाचनसम्बन्धी कार्यपत्र प्रश्तुत गर्नुहुनेछ । भेलाको व्यवस्थापन, सुरक्षा, स्वास्थ्य सेवा तथा सहभागीहरूको कार्ड वितरणको आवश्यक तयारी पूरा गरिएको छ । सुरक्षाका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीहरूबाट स्थानीय निर्वाचन केन्द्रित सुझावसमेत संकलन गरिनेछ । भेलाको समाचार संकलन तथा सम्प्रेषणका लागि सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ । उद्घाटन समारोहमा प्रत्यक्ष समाचार संकलनको व्यवस्था हुनेछ भने अन्य सत्रका जानकारी मिडिया सेन्टरमार्फत उपलब्ध गराइनेछ । यस राष्ट्रिय भेलालाई सफल बनाउन सम्पूर्ण पार्टी पंक्ति, सञ्चारमाध्यम तथा सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’
भेलामा केन्द्रिय कमिटी, केन्द्रिय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासी नेपाली मञ्चका प्रतिनिधि र पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् । त्यसैगरी संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, पालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र जनसंगठनका प्रतिनिधिको पनि सहभागिता रहनेछ ।
राष्ट्रिय भेलामा सहभागी सबैबाट स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा संकलन गरिने एमालेले जनाएको छ । यसबाट आगामी निर्वाचनको रणनीति र पार्टीको संगठनात्मक तयारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । भेलाको व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीको आवासको व्यवस्था आफैँ गर्नुपर्ने भए पनि त्यसो गर्न नसक्नेहरूका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्नेछ ।
स्वास्थ्य सेवाका लागि कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष राखिने र सवारी पार्किङको व्यवस्था पार्टी केन्द्रिय कार्यालय च्यासलमा मिलाइएको आचार्यले बताउनुभयो । भेलाको उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार संकलन, श्रव्यदृश्य सामग्री छायांकन तथा सम्प्रेषणका लागि सभाहलमा पहुँच दिइनेछ । बन्दसत्रका गतिविधिबारे भने पार्टीको केन्द्रिय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी गराउने एमालेले जनाएको छ ।
एमालेले पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको धारणा स्पष्ट पार्ने, संगठनलाई निर्वाचन केन्द्रित बनाउने र नेतृत्वदेखि स्थानीय तहसम्म राजनीतिक बुझाइमा समानता कायम गर्ने उद्देश्यसहित राष्ट्रिय भेलालाई महत्वपूर्ण रूपमा लिएको छ ।









प्रतिक्रिया दिनुहोस्