काठमाडौं । सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ ।
आईतवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चारदिने छठ पर्व समापन गरेका हुन् । हेटौँडाको राप्ती नदी तटमा पनि श्रद्धा, भक्ति र उत्साहका साथ छठ मनाइएको छ । दुई–तीन परिवारबाट शुरु भएको राप्ती तटको छठ पूजा ४६ वर्षमा हजारौँ परिवारको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको छ ।
आईतवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै हेटौँडाको राप्ती नदी तटमा छठ पर्वको मुख्य पूजा गरिएको थियो । दिनभर पूजाको तयारीमा जुटेका व्रतालुहरू साँझ पूजाका सामग्रीसहित नदी किनारमा पुगे । उखु, केरा, नरिवल, अदुवा, कागतीलगायतका सामग्रीले सजिएका ढाकी र सुपली लिएर उनीहरूले अस्ताउँदो सूर्यको पूजा आराधना गरे । सूर्यलाई जीवन, ऊर्जा र प्रकृतिको आधारका रूपमा मान्दै गरिने छठ पूजामा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य अर्पण गरिन्छ । यही विशिष्ट परम्पराले छठलाई अन्य पर्वभन्दा फरक पहिचान दिएको छ ।
चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्व नहाय–खायबाट शुरु हुन्छ । दोस्रो दिन खरना गरिन्छ । खरनाका दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ विशेष प्रसाद ग्रहण गर्छन् । त्यसपछि शुरु हुने निर्जला व्रतमा पानीसमेत नपिई व्रतालुहरूले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।
छठका लागि ठेकुवा, भुसुवा, फलफूललगायतका प्रसाद तयार गरिन्छ । प्रसाद तयार गर्दा शुद्धता र पवित्रतालाई विशेष ध्यान दिइन्छ । बाँसका ढाकी र सुपलीमा सजाइएका प्रसाद लिएर परिवार तथा आफन्तसहित घाट पुग्ने परम्पराले यस पर्वलाई पारिवारिक र सामूहिक उत्सवका रूपमा समेत स्थापित गरेको छ ।
आईतवार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरू सोमबार बिहानै पुनः राप्ती नदी तटमा भेला भए । रातभर उदाउँदो सूर्यको प्रतीक्षामा रहेका उनीहरूले बिहान सूर्यको पहिलो किरणसँगै जल र पूजाका सामग्री अर्पण गरे ।
छठ पर्वको अन्तिम तथा महत्वपूर्ण विधिका रूपमा रहेको उषा अर्घ्य दिएपछि व्रतालुहरूले पारण गरी व्रत समापन गरेका छन् । सूर्यदेव र छठी मैयासँग परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको कल्याण तथा आरोग्यको कामना गर्दै छठ पर्व सम्पन्न गरिएको हो ।
हेटौँडाको राप्ती नदी तटमा छठ पर्वलाई व्यवस्थित बनाउन यस वर्ष सात सय मिटर लामो पण्डाल निर्माण गरिएको थियो । बिहानैदेखि पूजास्थलमा व्रतालु, श्रद्धालु तथा दर्शकहरूको चहलपहल बढेको थियो । गत वर्ष पनि राप्ती तटमा ठूलो संख्यामा भक्तजन तथा दर्शकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पर्व व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै, वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले करिव सात लाख रुपैयाँ बराबरका साउन्ड सिस्टमका उपकरण उपलब्ध गराएको थियो । पूजास्थलको सुरक्षा र भीड व्यवस्थापनका लागि दुई सयभन्दा बढी प्रहरी, स्काउट तथा स्वयंसेवक परिचालन गरिएको थियो । व्रतालु कनकप्रभा चौधरीले आफूले सकेको मिष्ठान्न सूर्यदेवलाई अर्पण गरी अर्घ्य दिने प्रचलन रहेको बताउनुभयो । व्रतालु सकुन्तला साहले घर परिवारसहित सबैको राम्रो होस् भन्ने हेतुले व्रत बस्ने चलन रहेको बताउनुभयो ।
हेटौँडाको राप्ती तटमा छठ पर्व मनाउन थालिएको ४६ वर्ष पुगेको छ । विसं २०३७ मा दुई–तीन परिवारबाट शुरु भएको छठ पूजा अहिले हजारौँ परिवारको साझा धार्मिक तथा सांस्कृतिक उत्सव बनेको छ । सानो समूहबाट शुरु भएको यो परम्परा समयसँगै विस्तार हुँदै हेटौँडाको महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा स्थापित भएको छ ।
छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता, पारिवारिक सम्बन्ध र सामुदायिक सद्भावलाई समेत बलियो बनाउँदै आएको छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर शुरु भएको पूजा उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सम्पन्न हुँदा राप्ती तटमा यस वर्षको छठ उत्सव पनि स्मरणीय बनेको छ ।









प्रतिक्रिया दिनुहोस्