काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताको समस्या र गुनासा सुन्न दुई महिने मेची–महाकाली पदयात्रा गर्न मेची प्रस्थान गर्नुभएको छ ।
जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा जनताको वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको बताउनुभएको हो । सोमवार जनकपुरधाममा आयोजित कार्यक्रममा सिंहले मंगलवार बिहान मेचीको किनारबाट शुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर समापन हुने जानकारी दिनुभयो ।
उहाँले पदयात्रालाई देश र समाज जोड्ने अभियानका रूपमा व्याख्या गर्नुभयो । जात, धर्म, पहाड–मधेस तथा वर्ग र समुदायका नाममा समाजमा द्वन्द्व हुन नहुने भन्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नुपर्ने उहाँको भनाइ छ ।
सिंहले पदयात्राको अर्को मुख्य उद्देश्य जनताका कुरा सुन्नु रहेको बताउनुभयो । अहिलेसम्म नेताहरूले जनतालाई आफ्ना कुरा सुनाउने गरेको उल्लेख गर्दै उहाँले यसपटक जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या र अपेक्षा बुझ्ने बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्