Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


कम्बोडियामा २० औँ फ्रान्कोफोनी शिखर सम्मेलन शुरु, शान्ति र बहुपक्षीय सहकार्यमा जोड


0
Shares

काठमाडौं । कम्बोडियाको राजधानी नोम पेन्हमा २० औँ फ्रान्कोफोनी शिखर सम्मेलन आईतवार औपचारिक रूपमा शुरु भएको छ ।

विश्व शान्ति स्थापना, अन्तर्राष्ट्रिय सहकार्य, बहुपक्षीयता र दिगो विकासलाई मुख्य प्राथमिकतामा राख्दै सम्मेलन शुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा अन्तर्राष्ट्रिय सङ्गठन फ्रान्कोफोनी (ओआईएफ) का ८० भन्दा बढी फ्रान्सेली भाषी देश तथा क्षेत्रका राष्ट्रप्रमुख, सरकार प्रमुख र उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएका छन् । ‘साझा समृद्धि र दिगो स्थायित्वका लागि शान्तिमा पुनः लगानी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनले सदस्य राष्ट्रहरूबीचको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखेको छ ।

सम्मेलनमा आपसी एकता, खुलापन, संवाद, सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय सहकार्यका साझा मूल्यलाई पुनः स्थापित गर्ने विषयमा समेत जोड दिइएको छ । सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कम्बोडियाका राजा नोरोदोम सिहामोनीले शान्तिको महत्वमाथि जोड दनिुभयो । उहाँले शान्तिबिना समृद्धि दिगो हुन नसक्ने उल्लेख गर्दै विश्वमा स्थायित्व र विकासका लागि शान्तिपूर्ण वातावरण आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बदलिँदो विश्व परिस्थितिले सिर्जना गरेका चुनौतीको सामना गर्न फ्रान्कोफोनी समुदाय सक्षम हुनुपर्ने बताउनुभयो । उहाँले विशेषगरी युवा पुस्ताका अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्दै विश्वव्यापी परिवर्तनसँगै अघि बढ्नुपर्नेमा जोड दनिुभयो ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विश्वमा बढ्दो विभाजन र ध्रुवीकरणका बीच कम्बोडिया एसिया र फ्रान्सेली भाषी विश्वबीच पुलका रूपमा काम गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सहकार्य र संवादलाई प्रोत्साहन गर्न कम्बोडियाले भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्मेलनमा विश्व शान्ति, सङ्कट व्यवस्थापन, द्वन्द्वपछिको पुनर्निर्माण तथा सांस्कृतिक सम्पदाको संरक्षणलगायतका विषयमा छलफल भइरहेको छ । बदलिँदो भू–राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएका चुनौतीबीच सदस्य राष्ट्रहरूबीच साझा धारणा निर्माण गर्ने उद्देश्य पनि सम्मेलनले राखेको छ ।

सम्मेलनको अन्त्यमा फ्रान्कोफोनी समुदायका लागि तीनवटा महत्त्वपूर्ण दस्तावेज पारित गर्ने कार्यसूची रहेको छ । जसमा ‘नोम पेन्ह घोषणा’, ‘सङ्कटको अवस्था, सङ्कटपछिको पुनरुत्थान तथा शान्ति निर्माणसम्बन्धी प्रस्ताव’ र ‘सांस्कृतिक सम्पदाको संरक्षण तथा सांस्कृतिक विविधताको प्रर्वद्धनसम्बन्धी नोम पेन्ह आह्वान’ रहेका छन् । यी दस्तावेजमार्फत सदस्य राष्ट्रहरूबीच शान्ति स्थापना, अन्तर्राष्ट्रिय सहकार्य, सङ्कट व्यवस्थापन र सांस्कृतिक विविधताको संरक्षणमा साझा प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा गरिएको छ ।

फ्रान्कोफोनी अन्तर्राष्ट्रिय सङ्गठन फ्रान्सेली भाषा प्रयोग गर्ने तथा फ्रान्सेली भाषासँग ऐतिहासिक, सांस्कृतिक र संस्थागत सम्बन्ध भएका देश तथा क्षेत्रहरूको अन्तरसरकारी सङ्गठन हो । यसले भाषा, शिक्षा, संस्कृति, लोकतान्त्रिक मूल्य, शान्ति र विकासका क्षेत्रमा सदस्य राष्ट्रहरूबीच सहकार्य प्रर्वद्धन गर्दै आएको छ ।

Skip This