Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माणको माग गर्दै आमरण अनसन बस्ने तयारी

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा कात्तिक ३० देखि अनसन थाल्ने संघर्ष समितिको घोषणा

0
Shares

शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल निर्माणको काम अघि नबढेको भन्दै स्थानीयले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन् । अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै प्रादेशिक अस्पताल तथा मेडिकल कलेज संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा अनिश्चितकालीन आमरण अनसन सुरु गर्ने तयारी गरेको छ ।

समितिले लामो समयदेखि सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि मागको सुनुवाइ नभएको जनाएको छ । सोही कारण संघर्षका कार्यक्रमलाई निरन्तरता दिनुपरेको समितिको भनाइ छ ।

संघर्ष समितिका संयोजक माधव ढुंगानाका अनुसार पूर्वनिर्धारित कार्यक्रमअनुसार कात्तिक ३० गतेदेखि अनसन सुरु गर्ने तयारी गरिएको छ । त्यसका लागि संयोजक ढुंगानासहित अर्जुनकुमार गौतम, लक्ष्मण भुजेल र सागर गौतमलगायत १५ देखि २० जनाको टोली विराटनगर पुगिसकेको छ ।

योजनाअनुसार कात्तिक ३० गते दिउँसोदेखि चार जना प्रतिनिधि अनिश्चितकालीन आवासीय आमरण अनसनमा बस्नेछन् । मुख्यमन्त्री कार्यालय परिसरमा अनसनका लागि अनुमति पाए कार्यालयभित्रै र अनुमति नपाए प्रवेशद्वारबाहिर बसेर भोक हड्तालसमेत गर्ने समितिले जनाएको छ ।

अस्पताल निर्माणका लागि कोशी प्रदेश सरकारले स्थानीयबाट १६७ रोपनी जग्गा निःशुल्क प्राप्त गरेको थियो । तर, जग्गा सम्याउने कामपछि निर्माण प्रक्रिया अघि नबढेको भन्दै स्थानीय असन्तुष्ट छन् । अस्पताल निर्माणको काम तत्काल सुरु गर्नुपर्ने माग राख्दै उनीहरूले यसअघि गएको फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसमेत बहिष्कार गरेका थिए ।

प्रादेशिक अस्पताल निर्माणको काम शीघ्र अघि बढाउनुपर्ने विषयलाई संघर्ष समितिले आफ्नो प्रमुख माग बनाएको छ ।

Skip This