Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


रुकुम पश्चिमको होटलमा एक व्यक्ति मृत फेला


0
Shares

जीवन खड्का, रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक होटलको कोठामा ३९ वर्षीय पुरुष मृत फेला परेका छन् ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका–३ माछिमीका राजु केसी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार केसी झुल्नेटास्थित न्यू त्रिवेणी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा खाना खाएर कोठा लिई सुतेका थिए । आइतबार दिउँसो २ बजेसम्म पनि उनी कोठाबाट बाहिर ननिस्किएपछि होटल सञ्चालकले झ्यालबाट हेर्दा बेडमै सुतिरहेको अवस्थामा देखेका थिए ।

कोठाको ढोका भित्रबाट बन्द रहेको र पटक–पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै प्रहरी चौकी झुल्नेटाबाट प्रहरी सहायक निरीक्षक भुपबहादुर बोहोराको नेतृत्वमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । त्यस्तै, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेमन्त गिरीको नेतृत्वमा अनुसन्धान टोलीसहित सात जना प्रहरी पनि घटनास्थल पुगेका थिए ।

स्थानीय जनप्रतिनिधि र मृतकका आफन्तको रोहबरमा कोठाको ढोका खोलेर हेर्दा केसी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केसीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।

Skip This