Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


बागमतीका १२ जिल्लाको पुनर्निर्माणमा चीनसँग सहयोग माग


0
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले बाढीपहिरो तथा मनसुनजन्य विपद्बाट प्रभावित १२ जिल्लाका स्वास्थ्य संस्था, विद्यालय र अत्यावश्यक पूर्वाधारको पुनर्निर्माण तथा स्तरोन्नतिका लागि चीन सरकारसँग सहयोगको अपेक्षा गरेको छ ।

बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले नेपाल–चीन स्वास्थ्य सहकार्यसम्बन्धी कार्यक्रममा यस्तो अपेक्षा व्यक्त गरेका हुन् । उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई दुई देशबीचको स्वास्थ्य सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै चिनियाँ चिकित्सकले जटिल शल्यक्रिया, बोनम्यारो ट्रान्सप्लान्ट, आधुनिक उपचार प्रविधि र स्वास्थ्यकर्मीको सीप विकासमा योगदान पुर्‍याएको बताए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चौ फानले सार्वजनिक स्वास्थ्य, चिकित्सा शिक्षा, अस्पताल व्यवस्थापन, टेलिमेडिसिन र स्वास्थ्य पूर्वाधार विकासमा नेपालसँग सहकार्य विस्तार गर्न चीन इच्छुक रहेको बताए ।

उनका अनुसार सन् १९९९ देखि चीनको हपेई प्रान्तले नेपालमा चिकित्सा टोली पठाउँदै आएको छ । हालसम्म १७ टोलीमार्फत २९९ चिनियाँ स्वास्थ्यकर्मी नेपाल आइसकेका छन् । हाल १७औँ टोलीका १७ जना स्वास्थ्यकर्मी १२ वटा विशेषज्ञता क्षेत्रमा रहेर सेवा दिइरहेका छन् । त्यस्तै, सन् २०१६ देखि तिब्बती तथा आधुनिक चिकित्सा पद्धतिसम्बन्धी संयुक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको र त्यसबाट आठ हजारभन्दा बढी नेपाली लाभान्वित भएको उनले जानकारी दिए ।

कार्यक्रममा चिनियाँ चिकित्सा सहायता टोलीका प्रतिनिधिहरूले नेपालमा काम गर्दाका अनुभव सुनाएका थिए । उनीहरूले एक वर्षको अवधिमा पाँच सयभन्दा बढी नेपाली स्वास्थ्यकर्मीलाई विभिन्न चिकित्सा प्रविधिसम्बन्धी तालिम दिएको र करिब १० वटा नयाँ चिकित्सा प्रविधि हस्तान्तरण गरेको जानकारी दिए ।

चिनियाँ चिकित्सकहरूले दुर्गम तथा ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएका छन् । कार्यक्रममा एक चिकित्सकले प्युठानकी लिम्फोमा रोगबाट पीडित युवतीको उपचार अनुभव सुनाउँदै नेपाली र चिनियाँ चिकित्सकको संयुक्त प्रयासमा चार चरणको केमोथेरापीपछि उनको पेटभित्र रहेको ट्युमर हराएको बताए ।

कार्यक्रममा भिडियो सन्देशमार्फत चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएनका प्रधानसम्पादक तथा एसियाली र अफ्रिकी भाषा कार्यक्रम केन्द्रका निर्देशक आन सियाओयुले वृत्तचित्रले नेपाल–चीन स्वास्थ्य सहकार्यको मानवीय पक्षलाई उजागर गरेको बताए ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चाइना मिडिया ग्रुपको संयुक्त पहलमा निर्माण गरिएको ‘नमस्कार, मेरो चिनियाँ डाक्टर’ नामक वृत्तचित्रमा नेपालमा कार्यरत चिनियाँ चिकित्सकहरूको सेवा, समर्पण र नेपाली बिरामीसँगको सम्बन्धलाई समेटिएको छ ।

वृत्तचित्रमा क्यान्सरलगायत जटिल रोगको उपचार, नेपाली स्वास्थ्यकर्मीलाई आधुनिक प्रविधिको तालिम, दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर तथा उपचारपछि बिरामीको जीवनमा आएको परिवर्तनलाई प्रस्तुत गरिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चाइना मिडिया ग्रुपको आयोजनामा भएको कार्यक्रम चाइना मिडिया ग्रुपको एसियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्र र साइनो नेपाल मिडिया सोसाइटीको संयोजनमा सम्पन्न भएको हो ।

कार्यक्रमका वक्ताहरूले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, अनुसन्धान, प्रविधि हस्तान्तरण र मानवीय सहयोगमार्फत नेपाल–चीनबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

Skip This