काठमाडौं । नेपाल र भारतबीच धार्मिक तथा सीमापार यातायात सम्पर्क विस्तार गर्ने उद्देश्यले जनकपुरधामबाट भारतको अयोध्यासम्म रेल सेवा सञ्चालन हुने भएको छ ।
भारतको रेल मन्त्रालयले ६०४ किलोमिटर लामो उक्त रेलमार्गमा सातामा एकपटक रेल चलाउन अनुमति दिएको हो । निर्धारित तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट भारतका लागि प्रस्थान गर्नेछ । अयोध्या क्यान्टबाट भने सोमबार जनकपुरधाम फर्किने गरी समय निर्धारण गरिएको छ ।
भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहरलाई जोड्ने यो रेलले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्या धामसम्म सेवा दिनेछ । यी स्थानमा यात्रु चढ्न र ओर्लन सक्ने व्यावसायिक बिसौनीसमेत तोकिएका छन् ।
नयाँ सेवाबाट नेपाल र भारतबीच आवतजावत गर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी धार्मिक यात्राका लागि अयोध्या जाने तीर्थयात्रीसँगै पर्यटक, विद्यार्थी तथा पारिवारिक र व्यावसायिक प्रयोजनले यात्रा गर्ने दुवै देशका नागरिक लाभान्वित हुनेछन् ।
रेल सेवा विस्तारले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धन र आपसी सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्