Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बर्दियामा मिनिबस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ घाइते


0
Shares

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकमा मिनिबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

शुक्रबार दिउँसो गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिफोर्स बस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएपछि बस पल्टिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ निवासी ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार अन्दाजी ५५ देखि ६० वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल गुलरिया पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा बस चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ। मध्यम अवस्था रहेका केही घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

घाइतेमध्ये चार जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। अन्य घाइतेको बर्दिया र नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Skip This