Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछः देउवा


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरूले निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

शनिवार ललितपुरमा आफू पक्षीय नेपाली काँग्रेसको जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालत कुनैपनि प्रलोभनमा बिक्ने संस्था नभएको बताउनुभएको हो । उहाँले अदालतले निष्पक्ष न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरूमाथि अन्याय नहुने जिकिर गर्नुभयो ।

देउवाले पञ्चायतकालदेखि नै अदालतले निष्पक्ष न्याय दिएको स्मरण गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएको समयमा आफूलाई शाही आयोगमार्फत जेल हालिएको प्रसङ्ग पनि सुनाउनुभयो । त्यतिबेला राजाको प्रत्यक्ष शासन रहेका कारण सर्वोच्च अदालतले आफूलाई न्याय दिन सक्ला कि नसक्ला भन्ने आशङ्का रहे पनि अदालतले साहस गरेर आफूलाई रिहा गरेको उहाँले बताउनुभयो । राजाको शासनकालमा समेत न्याय दिनसक्ने अदालतले अहिले पनि पार्टीको आधिकारिकता विवादमा निष्पक्ष न्याय गर्ने उहाँको विश्वास छ । उहाँले आफूहरूले न्याय पाउने र अन्ततः आफ्नो पक्षको जित हुने दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई नेपालको न्यायपालिकाप्रति पूर्ण विश्वास छ । सर्वोच्च अदालत कुनै आर्थिक प्रलोभनमा बिक्ने संस्था होइन । अदालतले निष्पक्ष र स्वतन्त्र रूपमा न्याय दिनेछ भन्ने मेरो दृढ विश्वास छ । पञ्चायतकालदेखि नै मैले न्यायपालिकाको भूमिका देख्दै आएको छु । राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएका बेला शाही आयोग गठन गरेर मलाई जेलमा राखिएको थियो । त्यसबेला पनि मैले आफ्नो परिवारलाई अदालतबाट न्याय पाउने विश्वास दिलाएको थिएँ। राजाको प्रत्यक्ष शासनका बेला समेत सर्वोच्च अदालतले शाहसपूर्वक न्याय दिएको इतिहास छ । त्यसैले अहिले पनि अदालतले निष्पक्ष न्याय गर्नेछ भन्नेमा म विश्वस्त छु । हामीले न्याय पाउनेछौँ र अन्याय हुनेछैन भन्ने विश्वास लिएको छु । म धेरै समय लिन चाहन्न। हाम्रो जित अवश्य हुनेछ भन्ने विश्वासका साथ अगाडि बढौँ । जनता हाम्रो साथमा छन्, पार्टी हाम्रो साथमा छ र देशको हित नै हाम्रो मूल उद्देश्य हो। जनताको विश्वास र साथ लिएर देश तथा जनताको सेवामा निरन्तर समर्पित हुँदै अघि बढौँ ।’

जनता र पार्टी आफ्नो पक्षमा रहेको उल्लेख गर्दै देउवाले देश र जनताको सेवामा निरन्तर लाग्न तथा जनताको साथ लिएर अघि बढ्न नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो ।

Skip This