Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एमाले सकियो भन्नेलाई आन्दोलन र निर्वाचनबाट शक्ति देखाउनुपर्छः केपी ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राजनीतिक प्रभावलाई पुनः स्थापित गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा उहाँले आगामी निर्वाचन र राजनीतिक आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमालेलाई देशको सही विचार बोकेको, सङ्गठित, प्रभावकारी र उज्यालो भविष्य भएको पार्टी हो भन्नेकुरा स्थापित गर्नुपर्ने बताउनुभयो ।

केन्द्रिय कमिटीले निर्धारण गरेका दुई प्रमुख कार्यभार आन्दोलन र निर्वाचन रहेको उल्लेख गर्दै उहाँले पार्टीका सबै जनवर्गीय, पेशागत तथा सामुदायिक संगठनलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभयो । कुनैपनि जनसंगठन शिथिल हुन नहुने भन्दै उहाँले पार्टीप्रतिको निष्ठामा कमी देखिएको भन्दै कार्यकर्ताको भुमिकामाथि समेत प्रश्न उठाउनुभयो । उहाँले विशेषगरी वागमती प्रदेशमा एमालेको संगठनात्मक अवस्था कमजोर भएको उल्लेख गर्दै त्यसलाई सुधार्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले सिद्धियो भन्ने जुन कुरा छ, त्यो होइन भन्नका लागि हामीले दुइटा कुराबाट नेकपा एमाले सिद्धियो होइन, नेकपा एमाले देशको सबैभन्दा सही विचार बोकेको, सबैभन्दा सङ्गठित, सबैभन्दा प्रभावकारी र सबैभन्दा कर्मठ र उज्यालो भविष्य भएको पार्टी हो भन्ने कुरा आन्दोलन र निर्वाचन बाट फेरि हामीले देखाउनुपर्छ । यसका लागि साथीहरू तयार रहन म आग्रह गर्न चाहन्छु । हामीले दुई कार्यभार भनेका छौँ केन्द्रीय कमिटीबाट । एउटा, आन्दोलनको कार्यभार । यो कुरा बेठीक भनेर मात्रै सप्रिनेवाला छैन। त्यसकारण हामीले आन्दोलनमा जान जरुरी छ र चुनावमार्फत चुनावमार्फत एउटा यस्तो इम्प्रेसन, नयाँ इम्प्रेसन फेरि जगाउन, दिन जरुरी छ ताकि मान्छेहरूले बुझून् । त्यसो भएको हुनाले, हामीले सबै जनवर्गीय, पेसागत, सामुदायिक सङ्गठनहरूलाई सञ्चालन गर्ने । हाम्रो कुनै पनि जनसङ्गठन शिथिल हुनुहुँदैन । जनसङ्गठनमा पनि कतिपय काम नलाग्ने, कतिपयमा अनौठो ढङ्गले पार्टीप्रतिको निष्ठामा गम्भीर कमी देख्छु म । पार्टी कार्यकर्तामा कार्यकर्ता हुँ भन्नका लागि यो लक्षण उपयुक्त हुँदैन, यो लक्षण हटाउनुपर्छ र मात्रै कार्यकर्ता हुन सकिन्छ । पार्टीप्रतिको निष्ठा छैन भने कार्यकर्ता हुँदैन । हाम्रो पार्टीप्रति निःशर्त निष्ठा हुनुपर्दछ । सर्तसाथ होइन, स्वार्थसाथ होइन । सर्त र स्वार्थबाट पार्टी मान्ने भनेको त त्यस्तो अवसरवादी त जति पनि भेटिन्छ, अब चुनाव आउन लागेका बेलामा त जे पनि हुन्छ । त्यसकारण हामीले त्यो बिल्कुलै भ्रममा पर्नुहुँदैन । वाग्मती प्रदेश नहुनुपर्ने गरी कमजोर भएको छ । अब यो सिलसिला अन्त्य हुनुपर्छ र वाग्मती प्रदेश नमुना एमालेमय, एमाले प्रदेश हुनुपर्दछ । कुनै समयमा राजधानीमा पनि एमालेको एकछत्र थियो । वाग्मती प्रदेशमा पनि यी ठाउँहरूमा एकछत्र थियो । यतिखेर हामी अलिक निकै नराम्ररी पछाडि परेका छौँ । अरूले भन्दा हामी आफैँ पछाडि परेका छौँ । कहिलेकहिले जनता हावाका भरमा कुइराको काग बनेर कुदेको देखिन्छ । के काम गरेर आयो त्यो मान्छेले, खोजी छैन । के पृष्ठभूमि, खोजी छैन । के इतिहास, खोजी छैन । के विचार छन्, उसका राम्रा विचार के छ, त्यो पनि थाहा छैन । देश बनाउने कतै कुरा छैन । चरित्र, आचरण, आर्थिक क्रियाकलाप, आर्थिक आचरण, सामाजिक क्रियाकलाप, ढोगी, सोही, यथार्थमा भन्ने हो भने अत्यन्त खतरनाक छ । तर मान्छे लहलहैमा पछि परेको छ । निर्लज्जताका साथ बोलेको छ त्यसको पक्षमा । यस्ता कुराहरू देखिन्छ । त्यसकारण यी कुराहरूबाट जनतालाई कसरी मुक्त गर्ने, त्यो हाम्रो अहोरात्र हो, हाम्रो काम हो । त्यसकारण अब त्यो भ्रममा परेर त्यसरी कुदेको लहलहैमा कुदेको जनतालाई पनि हामीले सम्झाउनैपर्छ, फर्काउनैपर्छ । यो काम हामीले गर्नुपर्छ । खासगरी युवाहरूलाई परिचालित गर्नुहोस्, युवाहरूमा जानुहोस्, युवाहरूलाई कार्यकर्ता बनाएर परिचालित गर्नुहोस् । युवाहरूलाई परिचालित गर्न सकिएन भने सफलता सजिलो हुँदैन ।’

उहाँले पछिल्लो समय जनता उम्मेदवार तथा राजनीतिक नेतृत्वको पृष्ठभूमि, इतिहास, विचार, चरित्र र आचरणको मूल्यांकन नगरी लहैलहैमा लाग्ने गरेको समेत आरोप लगाउनुभयो । यस्तो प्रवृत्तिबाट जनतालाई सचेत गराउनु पार्टी कार्यकर्ताको जिम्मेवारी भएको उहाँको भनाई छ ।

पार्टीको राजनीतिक गतिविधिमा युवाहरूको परिचालनलाई विशेष प्राथमिकता दिन पनि निर्देशन दिनुभयो । युवाहरूलाई पार्टीमा संगठित गर्दै सक्रिय कार्यकर्ताका रूपमा परिचालन गर्न नसके राजनीतिक सफलता हासिल गर्न कठिन उहाँको भनाई छ ।

Skip This