सविना अछामे, खोटाङ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खोटाङबाट छनोट भएका खेलाडीहरूले तयारी तीव्र पारेका छन्। विभिन्न विधाका खेलाडीहरू बन्द प्रशिक्षणमा जुट्दै प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित अभ्यास गरिरहेका छन्।
जिल्लाबाट छनोट भएका कराते, भलिबल, कबड्डी, क्रिकेटलगायत खेलका खेलाडीहरू प्रशिक्षणमा व्यस्त छन्। करातेका १७ इभेन्टका खेलाडीले कात्तिक ८ गतेदेखि बन्द प्रशिक्षण सुरु गरेका हुन्। प्रदेशस्तरीय छनोट हुँदै राष्ट्रिय प्रतियोगितासम्म सफलता हासिल गर्ने उद्देश्यले उनीहरू अभ्यासरत छन्।
कराते खेलाडी युमसाम राईले यसपटक पदक जित्ने लक्ष्यसहित प्रशिक्षण भइरहेको बताइन्। नवौँ राष्ट्रिय खेलकुदमा पदक जितेका तथा विभिन्न राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलेका खेलाडी टोलीमा रहेकाले राम्रो नतिजा आउने प्रशिक्षक सञ्जयकुमार राईको अपेक्षा छ।
खोटाङका कराते खेलाडी मङ्सिर ३ गतेदेखि सुनसरीको इटहरीमा हुने कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनेछन्। त्यहाँबाट छनोट हुने खेलाडीले कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्।
भलिबलतर्फका खेलाडीले पनि जिल्ला छनोट सकिएलगत्तै कात्तिक १५ गतेदेखि बन्द प्रशिक्षण थालेका छन्। महिला र पुरुष दुवै टोलीले जित हासिल गर्ने सम्भावना देखिएको प्रशिक्षक जितेन्द्र राईले बताए।
जिल्ला भलिबल संघका अध्यक्ष दिलचक्र राईका अनुसार टोलीमा २१ वर्ष ननाघेका, ६ फिटसम्म उचाइ भएका र अनुभव प्राप्त खेलाडीलाई प्राथमिकता दिइएको छ। पदक जित्ने उद्देश्यले उनीहरूलाई प्रशिक्षण दिइरहेको उनले बताए।
भलिबलका लागि महिला र पुरुषतर्फ १२–१२ खेलाडी छनोट भएका छन्। दुवै टोलीका एक–एक जना व्यवस्थापकसहित २६ जनाको टोली प्रदेशस्तरीय छनोटमा सहभागी हुने तयारी छ। उक्त छनोट मङ्सिर ७ गतेदेखि सुरु हुनेछ।
यता तेक्वान्दोमा खेलाडी छनोट गरिए पनि आर्थिक अभावका कारण बन्द प्रशिक्षण सञ्चालन गर्न कठिनाइ भएको प्रशिक्षक मोहन राईले बताए। उनका अनुसार महिला र पुरुषतर्फ १२–१२ गरी २४ खेलाडी छनोट गरेर प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने तयारी छ।
जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजूले प्रदेश खेलकुद विकास बोर्डबाट पर्याप्त बजेट नआउँदा तयारीमा समस्या भएको बताए। उनका अनुसार जिल्ला छनोट र व्यवस्थापनका लागि दुई लाख ७५ हजार रुपैयाँ मात्र प्राप्त भएको छ। उक्त रकमले सबै खर्च धान्न नसकेपछि सम्बन्धित खेल संघहरूले आफ्नै व्यवस्थापनमा बन्द प्रशिक्षण सञ्चालन गरिरहेका छन्।
गत वर्ष बोर्डले आठ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएको थियो। तर प्रतियोगिता स्थगित भएपछि उक्त रकम फिर्ता गरिएको कसजूले जानकारी दिए।
खोटाङबाट कराते, तेक्वान्दो, पौडी, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भारोत्तोलन, साइक्लिङ, आर्चरी, स्क्वास, क्रिकेट, भलिबल, फुटबल, एथलेटिक्स, कबड्डी र चेस गरी १६ खेलका लागि २०३ खेलाडी छनोट भएका छन्। उनीहरूसँगै ३१ जना प्रशिक्षक तथा व्यवस्थापक पनि प्रतियोगितामा सहभागी हुनेछन्।









प्रतिक्रिया दिनुहोस्