काठमाडौं । जलवायु परिवर्तनका असरबाट शहर तथा समुदायलाई सुरक्षित राख्ने, ऊर्जा दक्ष भवन निर्माण गर्ने र जलवायु अनुकूलनमा लगानी बढाउने विषय संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१ औँ सम्मेलन (कोप–३१) मा प्राथमिकताका साथ उठाइएको छ ।
टर्कीको तटीय शहर अन्टाल्यामा जारी सम्मेलनअन्तर्गत बिहीवार शहरी उत्थानशीलता, अनुकूलन तथा जलवायु कार्यसम्बन्धी उच्चस्तरीय संवाद आयोजना गरिएको थियो । टर्कीको कोप–३१ अध्यक्षता र संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) ले संयुक्त रूपमा आयोजना गरेको उक्त संवादमा राष्ट्रिय जलवायु प्रतिवद्धता र अनुकूलन योजनालाई सहर तथा समुदायमा प्रत्यक्ष लगानीका रूपमा कार्यान्वयन गर्ने उपायबारे छलफल भएको थियो ।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले जलवायु परिवर्तनको जोखिम न्युनिकरणका लागि सुरक्षित आवास, व्यवस्थित शहरी विकास, पूर्वाधारको सुदृढीकरण र समुदायको अनुकूलन क्षमता बढाउनुपर्नेमा जोड दिएका थिए । यूएन–ह्याबिट्याटकी कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी उपमहासचिव अनाक्लाउडिया रोसबाकले विभिन्न देशले जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण प्रतिवद्धता जनाइसकेको उल्लेख गर्दै अब त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताउनुभयो ।
उहाँले दिगो र समावेशी भविष्य निर्माणका लागि पर्याप्त आवासको व्यवस्था, अव्यवस्थित बस्ती तथा झुपडी क्षेत्रको रूपान्तरण र शहरी उत्थानशीलता सुदृढीकरणलाई जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताउनुभयो ।
कोप–३१ का अध्यक्ष तथा टर्कीका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले जलवायु कार्यले समुदायलाई सुरक्षित बनाउनुका साथै घरहरूलाई ऊर्जा दक्ष, पूर्वाधारलाई बलियो र जलवायु परिवर्तनका असरविरुद्ध प्रतिरोधी बनाउनुपर्ने बताउनुभयो ।
सम्मेलनमा सहरी उत्थानशीलतासँगै ऊर्जा दक्ष भवन निर्माणसम्बन्धी ‘अन्टाल्या कम्प्याक्ट’ लाई पनि सहभागी देशहरूले स्वागत गरेका छन् । कोप–३१ अध्यक्षताको पहलमा अघि सारिएको यस सम्झौताले भवन क्षेत्रमा ऊर्जा खपत घटाउने र विद्युतीकरणलाई तीव्रता दिने लक्ष्य राखेको छ ।
यस पहलअन्तर्गत सन् २०३५ सम्म विश्वभरका भवनहरूको सञ्चालनमा प्रयोग हुने ऊर्जाको तिब्रता २५ प्रतिशतले घटाउने तथा भवनहरूमा ऊर्जा दक्ष विद्युतीकरणलाई तीव्र बनाउने दुईवटा विश्वव्यापी लक्ष्य अघि सारिएका छन् ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) की कार्यकारी निर्देशक इङ्गर एन्डरसनले ऊर्जा दक्ष तथा जलवायु प्रतिरोधी भवनलाई विश्वव्यापी मापदण्डका रूपमा स्थापित गर्न उक्त सम्झौता महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले प्रतिबद्धतालाई प्रभावकारी नीति, लगानी र कार्यान्वयनयोग्य योजनामा रूपान्तरण गर्न सरकारहरूलाई आग्रह गर्नुभयो। भवन क्षेत्रमा ऊर्जा दक्षता बढाउँदा कार्बन उत्सर्जन र ऊर्जा खर्च दुवै घटाउन सकिने उहाँको भनाइ छ ।
यसैबीच, कोप–३१ अध्यक्षताले ‘दिगो सहरी उत्थानशीलता वित्तीय सुविधा’ (सर्फ) लाई पनि विशेष प्राथमिकतामा राखेको छ । गत सेप्टेम्बरमा शुरु गरिएको यस पहलले जलवायु लक्ष्यलाई लगानीयोग्य परियोजनामा रूपान्तरण गर्ने र शहरी उत्थानशीलताका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्ने उद्देश्य राखेको छ ।
यस सुविधामार्फत विभिन्न देश, शहर, अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा सार्वजनिक र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याएर जलवायु अनुकूलनसम्बन्धी परियोजनामा लगानी जुटाउने लक्ष्य राखिएको छ । टर्कीले सन् २०२३ फेब्रुअरीमा गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माण अनुभवलाई समेत यस पहलको आधार बनाएको छ।
भूकम्पबाट प्रभावित ११ प्रान्तमा विपद् प्रतिरोधी तथा ऊर्जा दक्ष आवास निर्माण गरिएको अनुभवलाई अन्य शहरमा शहरी उत्थानशीलता विकासका लागि उपयोग गर्न सकिने टर्की पक्षले जनाएको छ । कोप–३१ मा भएका यी छलफलले जलवायु परिवर्तनविरुद्धका प्रतिवद्धतालाई घोषणामा मात्र सिमित नराखी सुरक्षित आवास, दिगो शहर, बलियो पूर्वाधार र प्रत्यक्ष आर्थिक लगानीमार्फत कार्यान्वयन गर्नुपर्ने आवश्यकतालाई उजागर गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्