काठमाडौं । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताउनुभएको छ ।
उहाँले बंगालको खाडीमा विकसित न्युनचापीय क्षेत्र गहिरो न्युनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भएपनि त्यसले नेपालमा असर नगर्ने बताउनुभएको हो । हालसम्मको मौसमी विश्लेषणअनुसार उक्त प्रणालीले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो ।
विभागले उक्त प्रणालीको अवस्था, सम्भावित मार्ग र दिशा निरन्तर अनुगमन गरिरहेको उहाँको भनाई छ । यसको मार्गमा परिवर्तन आएर नेपालमा प्रभाव पर्ने अवस्था देखिए विभागले आवश्यक जानकारी गराउने उहाँले बताउनुभयो । उहाँकाअनुसार हाल नेपालमा उक्त प्रणालीका कारण ठूलो वर्षा वा लगातार झरी पर्ने सम्भावना देखिएको छैन ।
उहाँले भन्नुभयो, ‘बङ्गालको खाडीमा जुन न्युन चापीय क्षेत्र छ, त्यो गहिरो न्युनचापीय क्षेत्रमा परिणत भएको जस्तो देखिन्छ । यसले बिस्तारै चक्रवातको अवस्था लिने जस्तो देखिन्छ । तथापि यो चक्रवात बने पनि यसले नेपालमा प्रभाव पार्ने जस्तो देखिँदैन । यसले नेपालमा मौसमको फेरबदल बनाउने, वर्षाको गतिविधि बढाउने जस्तो देखिँदैन । यो प्रणालीको नेपाल मौसम विज्ञान विभागले यसको अवलोकन गरिरहेको छ । यसले कसरी चाहीँ ट्रयाक लिन्छ रु यो कता जान्छ भन्ने किसिमको विश्लेषण भईरहेको छ । यदि फेरबदल आउने भयो भने चाहिँ हामी जानकारी गराउने छौँ । अहिलेसम्मको प्रक्षेपण अनुसार यसले खासै नेपालको मौसममा प्रभाव पार्ने जस्तो देखिँदैन ।’
उहाँले आईतवार भने मुख्यतः हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको उहाँको भनाई छ ।
दुई प्रदेशका धेरै स्थानमा वर्षा हुनसक्ने भएपनि भारी वर्षाको सम्भावना भने नरहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मात्रै वर्षा हुनसक्ने विभागको अनुमान छ ।
आईतवार बेलुकादेखि पश्चिमी न्युनचापीय प्रणाली कमजोर हुँदै जाने र वर्षाका गतिविधि क्रमशः घट्ने उहाँले जानकारी दिनुभयो । आगामी दुई दिन वर्षाका गतिविधि न्यून रहने र त्यसपछिका पाँच दिनसम्म पनि वर्षाको सम्भावना क्रमशः घट्दै जाने पूर्वानुमान रहेको उहाँले बताउनुभयो ।
मौसमको पूर्वानुमानमा ध्यान दिन किसानलाई सुझाव
मौसमविद् ढकालले धान काट्ने समय चलिरहेकाले मौसमको पूर्वानुमानमा ध्यान दिन किसानहरुलाई सुझाव दिनुभएको छ ।
आईतवार दिउँसोतिर हुने वर्षाले काटेर राखिएको धानमा असर पार्नसक्ने भएपनि खेतमै रहेको नकाटिएको धानबालीमा भने असर नपार्ने उहाँले बताउनुभयो ।
कृषि तथा अन्य व्यावसायिक गतिविधिको कार्यतालिका बनाउनुअघि आगामी दिनको मौसमबारे जानकारी लिनु उपयुक्त हुने उहाँको सुझाव छ ।









प्रतिक्रिया दिनुहोस्