Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


५.५ किलो हेरोइनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ


0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५।५ किलो लागुऔषध सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे रहेका छन् । थाइल्याण्डबाट नेपाल आएका उनलाई विमानस्थलमा खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

प्रहरीले उनको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाएर राखिएको ५.५ किलो सेतो हेरोइन फेला पारेको थियो । गत कात्तिक २८ गते गरिएको उक्त कारबाहीमा प्रहरीले उनको साथबाट एउटा राहदानी र एउटा मोबाइल फोनसमेत बरामद गरेको छ ।

ब्युरोका अनुसार तिघारे यसअघि दुईपटक लाओसबाट नेपाल आएका थिए । उनले लाओससहित जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियाको समेत भ्रमण गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अनुसन्धानमा उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको खुलेको ब्युरोले जनाएको छ । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ ।

बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ रहेको ब्युरोको भनाइ छ । भारत पुर्‍याएपछि उक्त लागुऔषधको मूल्य अझै बढ्ने जनाइएको छ ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार यस्तो कसुरमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

Skip This