काठमाडौं । सूर्यदेवप्रति आस्था प्रकट गर्दै मनाइने छठ पर्वअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य अर्पण गरिँदै छ । चार दिनसम्म चल्ने यस पर्वमा व्रतालुहरूले कठोर उपवास, पूजाआजा र विभिन्न धार्मिक विधिमार्फत सूर्यदेव तथा छठी माताको आराधना गर्छन् ।
छठ पर्वको धार्मिक महत्वसँगै यसको सुरुआतबारे विभिन्न पौराणिक मान्यता प्रचलित छन् । महाभारतमा उल्लेख भएअनुसार वनवासपछिको अज्ञातवासका क्रममा द्रौपदीसहित पाँच पाण्डवले आफ्नो कठिन समय सफलतापूर्वक पार गर्न सूर्यदेवको उपासना गरेका थिए । उनीहरू त्यसबेला विराट राजाको दरबारमा गुप्त रूपमा बसेका थिए । यही घटनासँग जोडेर छठ पर्वको परम्परा सुरु भएको जनविश्वास रहिआएको छ ।
त्यस्तै, सूर्य पुराणमा छठ व्रतको प्रारम्भबारे अर्को प्रसंग उल्लेख गरिएको छ । पुराणअनुसार महर्षि अत्रिकी पत्नी अनुसूयाले सर्वप्रथम यो व्रत गरेकी थिइन् । उनको व्रतबाट प्रसन्न भएका देवताको कृपाले उनले अखण्ड सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ । त्यसपछि नै छठ मनाउने चलन स्थापित भएको मानिन्छ ।
छठ पर्वमा सूर्यको पूजा गर्नुको मुख्य आधार मानव जीवन र प्रकृतिमा सूर्यको महत्वपूर्ण भूमिकासँग जोडिएको छ । पृथ्वीमा वनस्पति, जीवजन्तु र समग्र जैविक प्रणालीको अस्तित्व सूर्यको ऊर्जामा निर्भर रहेको छ । सूर्यको प्रकाशलाई स्वास्थ्य उपचारसँग समेत जोडेर विभिन्न अध्ययन तथा ग्रन्थहरू तयार पारिएका छन् ।
धार्मिक ग्रन्थहरूमा सूर्य उपासनाबाट रोगमुक्ति प्राप्त भएका प्रसंगसमेत पाइन्छन् । सूर्य पुराणसँग सम्बन्धित मान्यताअनुसार भगवान् श्रीकृष्णका पुत्र साम्ब श्रापका कारण कुष्ठरोगबाट पीडित भएका थिए । सूर्यदेवको आराधना गरेपछि उनी रोगबाट निको भएको कथा प्रचलित छ ।
छठ व्रतले दुःख, कष्ट र दरिद्रता हटाई परिवारमा सुख, शान्ति तथा समृद्धि ल्याउने जनविश्वास छ । यस अवसरमा सूर्यदेवलाई विभिन्न प्रकारका फलफूल र प्रसाद चढाउने परम्परा छ । विशेषगरी फलफूलका झुप्पा अर्पण गर्दा व्रतालुका साथै उनीहरूको परिवार र सन्तानको कल्याण हुने धार्मिक मान्यता रहेको छ ।
कुनै कारणले आफैँ व्रत बस्न नसक्ने व्यक्तिले भने व्रत बसेका व्यक्तिमार्फत आफ्नो मनोकामना पूरा हुने कामना गर्ने चलनसमेत छ ।









प्रतिक्रिया दिनुहोस्