Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


प्रधानमन्त्रीका प्रमुख सल्लाहकार प्रकरणमा प्रधानमन्त्रीले लिने कदममा रास्वपाको समर्थन रहने


0
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन्द्र साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई पार्टीको पूर्ण समर्थन रहने बताउनुभएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा चौधरी ग्रुपका व्यक्तिहरू तथा विचौलिया इनम सापकोटाको मोबाइल फोन भेटिएको विषय सार्वजनिक भएपछि त्यसबारे पार्टीको धारणा माग्दा प्रवक्ता खरेलले यो विषय सरकारकै क्षेत्राधिकारभित्र पर्ने बताउनुभएको हो । आईतवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयमा प्रधानमन्त्री स्वयंले आवश्यक निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

सरकारका आन्तरिक कामकारबाही र सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा सरकारमाथि राजनीतिक हस्तक्षेप गरेको आरोप लाग्न सक्ने उहाँले बताउनुभयो । प्रमुख सल्लाहकारलाई छानबिनको दायरामा ल्याउन पार्टीले नै पहल गर्नुपर्ने हो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले प्रधानमन्त्रीले आवश्यक ठानेर कुनै पनि व्यक्तिबाट गलत काम भएको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया अघि बढाए पार्टीको साथ रहने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले आवश्यक कदम चाल्न चाहेमा पार्टीले त्यसमा पूर्ण सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

खरेलले उक्त विषय पार्टीमा औपचारिक रूपमा प्रवेश नगरेको जानकारीसमेत दिनुभयो । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा जान लागेको र पार्टी सभापति छठ पर्व मनाउन तराईमा रहेकाले यस विषयमा पार्टीभित्र औपचारिक छलफल हुन नसकेको उहाँको भनाइ छ ।

Skip This