Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


फुर्केखोलामा पन्टुन पुल जडानको तयारी तीव्र, पहुँचमार्ग निर्माण र रङरोगन हुँदै


0
Shares

नवराज छत्कुली, धादिङ । भोटेकोसी नदीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोलामा पन्टुन पुल जडानको तयारी तीव्र, पहुँचमार्ग निर्माण र रङरोगन हुँदैको पक्की पुल बगाएपछि अस्थायी रूपमा पन्टुन पुल जडान गर्ने काम तीव्र पारिएको छ ।

धादिङका आठवटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने उक्त पुल गत भदौ १० गते बाढीले बगाएको थियो । पुल बगाएपछि अवरुद्ध आवागमन सहज बनाउन पन्टुन ब्रिज जडान गर्न लागिएको हो । अहिले पुलका विभिन्न पार्टपुर्जाको मर्मत तथा रङरोगन भइरहेको छ । साथै पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणको काम पनि जारी छ ।

धादिङका १३ वटै स्थानीय तहको पहलमा बर्दियास्थित राजापुर सिँचाइ व्यवस्थापन कार्यालयमा रहेको पन्टुन पुल फुर्केखोलामा ल्याइएको हो । प्राविधिकको सुझावअनुसार सुरुमा हलुका सवारीसाधन र अत्यावश्यक सेवाका गाडी सञ्चालन गरिनेछ । त्यसपछि पुलको अवस्था परीक्षण गरी भारी सवारीसाधन सञ्चालन गर्ने तयारी छ ।

तिहारअघि नै पुलका सामग्री ल्याइएको भए पनि जडानको काम पूरा हुन अझै बढीमा एक साता लाग्ने अनुमान गरिएको छ । पन्टुन पुल पानीमा तैरिन सक्ने संरचनाहरू एकआपसमा जोडेर बनाइने अस्थायी पुल हो । फलामे ड्रम वा विशेष प्रकारका तैरिने संरचनाको सहायताले नदी तथा खोलामाथि यस्तो पुल निर्माण गरिन्छ ।

फुर्केखोलाको मुख्य पुल बगाएपछि पछिल्लो ८० दिनदेखि पृथ्वी राजमार्ग, मलेखु बजार तथा धादिङका विभिन्न क्षेत्रमा आवतजावत प्रभावित हुँदै आएको छ । २०५६ सालमा निर्माण गरिएको ११८ मिटर लामो स्टिल प्लेट गर्डर पुल बाढीले बगाएपछि स्थानीयवासी वैकल्पिक सडक प्रयोग गर्न बाध्य छन् ।

हाल धादिङका साना तथा मालवाहक सवारीसाधन मासटार र गोरखा हुँदै आवतजावत गरिरहेका छन् । पृथ्वी राजमार्गबाट मासटार–केउरेनी–पिपलटार–परेवाटार हुँदै धादिङबेँसी पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा रहे पनि कतिपय स्थानमा सडक कच्ची र हिलाम्मे भएकाले यात्रा सहज हुन सकेको छैन ।

Skip This