Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


चितलाङमा ६ किलोभन्दा बढी चरेस बरामद, दुई जना पक्राउ


0
Shares

सुबर्ण श्रेष्ठ, हेटौंडा । मकवानपुरको चितलाङ क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा प्रहरीले ६ किलोभन्दा बढी चरेस बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई कारसहित नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान १ः४५ बजे थाहा नगरपालिका–९ स्थित प्रहरी चेकपोस्टमा जाँचका क्रममा उक्त परिमाणको लागूऔषध फेला परेको हो।

गोरखाबाट चितवनको सौराहा हुँदै हेटौंडा र चितलाङको बाटो भएर काठमाडौं जाँदै गरेको बा प्र ०१–०३५ च ४५६१ नम्बरको कारलाई प्रहरीले रोकेर खानतलासी गरेको थियो। सो क्रममा कारको पछाडिको डिक्कीमा राखिएको कपडाको झोलाभित्र लुकाइएको ६ किलो ४० ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी नियन्त्रणमा पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ घर भई हाल बनेपा बस्ने ३३ वर्षीय हेबिन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ क्षेत्रपुरका २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।

बरामद लागूऔषध र नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Skip This