Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


अमेरिकामा हवाई सेवा अस्तव्यस्त, हजारौं उडान रद्द र ढिलाइ


0
Shares

काठमाडौं । अमेरिकामा हवाई यातायातको अवरोध लम्बिँदै जाँदा यात्रुहरूले अझै सास्ती खेप्नुपरेको छ। उडान सञ्चालनमा लगाइएको प्रतिबन्ध हटेको दुई दिन बितिसक्दा पनि विमानस्थलहरूमा उडान रद्द हुने र निर्धारित समयभन्दा ढिलो हुने क्रम रोकिएको छैन।

आइतबार मात्रै देशका विभिन्न विमानस्थलबाट हुने ८ हजार ८ सयभन्दा बढी उडान प्रभावित भएका छन्। तीमध्ये करिब २ हजार ४ सय उडान रद्द गर्नुपरेको विवरण सार्वजनिक भएको छ।

अमेरिकी यातायात सचिव शन डफीले सोमबारसम्म हवाई सेवा क्रमशः नियमित हुने अपेक्षा व्यक्त गरेका छन्। उडान अवरोधका कारण विमान र चालक दलका सदस्यहरू आ–आफ्नो निर्धारित गन्तव्यमा नरहेको अवस्था सिर्जना भएकाले सेवा पूर्ववत् बनाउन थप समय लाग्ने उनको भनाइ छ।

उता, राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई यातायात व्यवस्थापनमा देखिएको समस्यालाई सम्बोधन गर्न हवाई ट्राफिक नियन्त्रण प्रणालीको स्तरोन्नति आवश्यक रहेको बताएका छन्। यसका लागि थप बजेटको व्यवस्था गर्न उनले अमेरिकी कंग्रेसलाई आग्रह गरेका छन्।

शुक्रबारदेखि लागू भएको उडान प्रतिबन्धले अमेरिकाका विभिन्न विमानस्थलमा यात्रुको आवागमन प्रभावित बनाएको थियो। प्रतिबन्धपछिको अव्यवस्थाले उडान तालिका प्रभावित हुँदा त्यसको असर अझै कायम रहेको छ।

Skip This