Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न


0
Shares

काठमाडौं । बिहानको पहिलो किरणसँगै नदी, पोखरी र जलाशयका किनारमा भेला भएका व्रतालुहरूले सूर्यको आराधना गर्दै यस वर्षको छठ पर्व सम्पन्न गरेका छन्।

चार दिनसम्म चल्ने धार्मिक अनुष्ठानको अन्तिम दिन सोमबार बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य चढाएर पूजा विधि पूरा गरेका हुन्। छठको अन्तिम पूजाका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका जलाशय क्षेत्रमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको थियो।

छठको मुख्य अनुष्ठानअन्तर्गत आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। त्यसपछि रातभर घाटमै बसेर पूजाआराधना गरेका उनीहरूले सोमबार बिहान पुनः सूर्यलाई अर्घ्य अर्पण गरेका हुन्। यससँगै निराहार व्रतको पनि समापन भएको छ।

पर्वका अवसरमा तराई–मधेसका विभिन्न जिल्लादेखि काठमाडौं उपत्यकासम्मका छठघाटहरू झकिझकाउ बनाइएका थिए। पूजा स्थलमा सजावटका साथै पूजाका सामग्रीसहित पुगेका श्रद्धालुहरूले सामूहिक रूपमा सूर्यको उपासना गरेका थिए।

यस वर्ष सरकारले छठको अन्तिम दिन अर्थात् सप्तमीमा पनि सार्वजनिक बिदा दिएको छ। यसअघि षष्ठीका दिन मात्रै बिदा दिने गरिएकोमा पहिलोपटक उदाउँदो सूर्यलाई अर्घ्य दिने दिनसमेत बिदा दिइएको हो।

Skip This