काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाले कुनै नयाँ निर्णय नगर्ने स्पष्ट पार्नुभएको छ ।
उहाँले राष्ट्रिय भेलाको मुख्य उद्देश्य पार्टीले यसअघि गरेका निर्णयलाई कार्यान्वयनमा एकरूपता कायम गराउनु रहेको बताउनुभएको हो । सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले राष्ट्रिय भेला निर्णय गर्ने निकाय नभई भएका निर्णयलाई पार्टीका सबै तहसम्म पुर्याउने र कार्यान्वयनमा एउटै धारणा निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।
उहाँकाअनुसार नयाँ निर्णय गर्ने अधिकार पार्टीको कार्यकारिणी कमिटीमा रहनेछ । आवश्यकताअनुसार केन्द्रिय कमिटीले पनि नयाँ निर्णय गर्नसक्ने भएपनि राष्ट्रिय भेलाबाट भने कुनै नयाँ निर्णय नहुने उहाँले स्पष्ट पार्नुभयो । पोखरेलले राष्ट्रिय भेलाले पार्टीका नेता तथा कार्यकर्तालाई एउटै राजनीतिक लयमा अघि बढाउने र पार्टीले लिएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्ने बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, ‘राष्ट्रिय कार्यकर्ता भेला कुनै नयाँ निर्णय गर्ने थलो होइन । यो पार्टीले यसअघि गरेका निर्णयहरूलाई एकरूपताका साथ कार्यान्वयन गर्दै सिङ्गो पार्टीलाई एउटै लयमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको हो । नयाँ निर्णय गर्ने अधिकार कार्यकारिणी कमिटी र आवश्यकताअनुसार केन्द्रिय कमिटीलाई हुन्छ ।’
एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ ।









प्रतिक्रिया दिनुहोस्