Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


राउटे युवतीहरूमाथि भएको यौन दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालबाट हटाउन अदालतको आदेश


0
Shares

काठमाडौं । जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुव्र्यहारका घटनाका विषयमा विभिन्न सामाजिक सञ्जाल तथा युट्युबमा राखिएका सामग्रीहरु तत्काल हटाउन आदेश दिएको छ । अदालतले यस्ता सामग्री राख्नेलाई कारबाही गर्न र आवश्यकताअनुसार साइटहरु बन्द गराउन पनि आदेशमा भनेको छ ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको आदेशमा ‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशित प्रसारित सामग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु, जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामग्रीहरु प्रचार–प्रसार नगर्न नगराउन ध्यानाकर्षण गराउनु’ भन्ने उल्लेख छ ।

यसैगरी युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरूका सामग्रीहरू हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन पनि भनिएको छ ।

अदालतले राउटे युवतीका विषयमा सामग्रीहरू प्रसारण प्रकाशन गर्नेविरुद्ध कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत प्रहरी प्रधान कार्यालयमा आदेशको प्रतिलिपि पठाउन पनि भनिएको छ ।

यस्तै संवेदनशील विषयमा जथाभावी सामग्रीहरू प्रसारण प्रकाशन गर्ने साइटहरू आवश्यकताअनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यानाकर्षण गराइएको छ ।