सुरेन्द्र भण्डारी, झापा । झापामा जङ्गली हात्तीको चहलपहल बढेसँगै मानव बस्तीमा त्रास फैलिएको छ । बुद्धशान्ति गाउँपालिका–२ साम्पाङटोलमा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।
बुधबारे प्रहरीका अनुसार बिहान करिब ५ बजे जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका हुन् । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, मेचीनगर नगरपालिका–७ स्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजामा १४ वटा जङ्गली हात्तीको बथान बसेपछि आसपासका बस्तीमा त्रास बढेको छ । बिहीबार बिहानदेखि साना बच्चासहितको हात्तीको बथान दशगजा क्षेत्रको झाडीमा आश्रय लिएर बसेको हो ।
हात्ती रहेको क्षेत्रको नेपालतर्फ सतिघट्टा, मेचीबस्ती र गैरीगाउँजस्ता बाक्लो बस्ती छन् । भारतीय क्षेत्रमा पनि सिसौ र टिकका बिरुवासहितको घना झाडी रहेकाले हात्ती जुनसुकै बेला बस्तीमा पस्न सक्ने चिन्ता स्थानीयमा छ ।
स्थानीय प्रत्यक्षदर्शी जीआर धितालका अनुसार हात्तीको बथान बिहानैदेखि झाडीमा देखिएको छ । दिनभर त्यहीँ बसेका हात्ती रातिको समयमा बस्ती प्रवेश गर्न सक्ने आशंका रहेको उनले बताए ।
हात्तीलाई नेपाली बस्तीमा पस्न नदिन सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । सशस्त्र प्रहरी बलको नम्बर २ गणअन्तर्गतका सीमा सुरक्षा पोस्ट तथा डिभिजन वन कार्यालय झापाका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख रामभगत यादवले हात्तीको सम्भावित प्रवेश रोक्न निगरानी बढाइएको जानकारी दिएका छन् । रातिको समयमा जोखिम अझ बढ्न सक्ने भएकाले सुरक्षा निकाय र स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।
हात्तीको बथानका कारण भारतीय सीमावर्ती क्षेत्रका १८ परिवारसमेत घर छाड्न बाध्य भएका छन् । ज्यान जोगाउन विस्थापित भएका केही परिवार नेपालतर्फका घरमा आश्रय लिएका छन् भने केही घुमाउरो बाटो हुँदै भारततर्फ गएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार बुधबारदेखि मेचीनगर–४ को प्रसाद गौडा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेको हात्तीको बथानलाई रोक्न सुरक्षाकर्मी परिचालन गरिएको थियो । बाहुनडाँगी क्षेत्रबाट प्रवेश गर्न नपाएपछि बथान करिब पाँच किलोमिटर दक्षिण सरेर मेची पुलमुनिको बाटो हुँदै मेचीनगर–७ को दशगजा क्षेत्रमा पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भारतीय भूभागबाट आउने हात्तीले नेपाली बस्तीमा प्रवेश गरी घर भत्काउने र पाकेको धानबाली नष्ट गर्ने जोखिम रहेकाले सुरक्षा सतर्कता बढाइएको छ ।
हात्तीको बथानलाई बस्तीमा पस्न नदिन सशस्त्र प्रहरी, नेपाल प्रहरी, वनरक्षक, र्यापिड रेस्पोन्स टिम, विभिन्न सङ्घसंस्था तथा स्थानीय किसानसमेत परिचालन भएका छन् ।









प्रतिक्रिया दिनुहोस्