
काठमाडौं । भाइटीकाका दिन सार्वजनिक यातायातको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले आज काठमाडौं उपत्यकामा तीनवटा निःशुल्क बस सञ्चालनमा ल्याएको छ।
तिहारका कारण सार्वजनिक सवारीसाधन न्यून सङ्ख्यामा सञ्चालन हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले सशस्त्र प्रहरीले निःशुल्क यातायातको व्यवस्था गरेको हो।
सशस्त्र प्रहरीका अनुसार आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बस सेवा उपलब्ध हुनेछ।
तीनमध्ये दुईवटा बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्नेछन्। पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खुलगायत क्षेत्र समेट्नेछ। अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई सेवा दिनेछ।
त्यसैगरी स्वयम्भूदेखि भक्तपुरसम्म सञ्चालन हुने तेस्रो बसले कलङ्की, बानेश्वर, कोटेश्वर, पेप्सीकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलङ्की र स्वयम्भूसम्मको रुटमा सेवा दिनेछ।
यसअघि दसैँका समयमा पनि सार्वजनिक यातायातको असहजतालाई कम गर्न सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो।









प्रतिक्रिया दिनुहोस्