काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताउनुभएको छ ।
मंगलवार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई केवल नेपाल संवतका संस्थापकका रूपमा मात्रै लिन नहुने उहाँले बताउनुभयो । समाजप्रतिको उत्तरदायित्व र परोपकारका प्रतीकका रूपमा साख्वालाई स्मरण गर्नुपर्ने उहाँको भनाइ छ । व्यक्तिगत सम्पती र सुखसुविधा आर्जन गर्नुभन्दा समाजको हित, नागरिकको दुःख निवारण र सकारात्मक परिवर्तनका लागि योगदान गर्नु नै व्यक्तिको वास्तविक महानता भएको उहाँले बताउनुभयो ।
राज्य कर संकलन र प्रशासन सञ्चालन गर्ने संयन्त्रमा मात्र सीमित हुन नहुने उहाँको भनाइ छ । विपन्न, सीमान्तकृत, पिछडिएका तथा दुःखमा परेका नागरिकको हित सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उहाँले बताउनुभयो । उहाँका अनुसार लोककल्याणकारी राज्यको केन्द्रमा आम नागरिक हुनुपर्छ । स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक अधिकार सुनिश्चित गर्न नागरिकमैत्री नीति, कानुन तथा कार्यक्रम आवश्यक छन् ।
काठमाडौं महानगरपालिकाले नागरिकको सहजताका लागि स्वास्थ्य र न्याय क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार महानगरले ‘बाइक एम्बुलेन्स’ सेवा, निःशुल्क कानुनी सहायता कार्यक्रम तथा झिलिमिली सहर बनाउने अभियानलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
तिहारसम्म अँध्यारा स्थानमा सडकबत्ती जडान गर्ने लक्ष्यसहित टेन्डर प्रक्रिया अघि बढाइए पनि प्राविधिक कारणले यसपटक प्रक्रिया पूरा हुन नसकेको उहाँले बताउनुभयो । आगामी दिनमा झिलिमिली अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ ।
कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास निर्माण गर्ने घोषणा पनि गर्नुभयो । उहाँका अनुसार निवास निर्माणका लागि मंसिर ५ गते पूजाआजासहित शिलान्यास गर्ने तयारी गरिएको छ ।
जीवित देवी कुमारीसँगै जीवित देवता श्री गणेश र श्री भैरवको पनि एकै स्थानमा निवास हुनुपर्ने स्थानीय समुदायको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै महानगरले निर्माण प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्