२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


अमेरिकाको ९० प्रतिशत जनसंख्या उत्तर कोरियाको निशानामा !


0
Shares

अमेरिकी गुप्तचर एजेन्सी ‘सीआइए’ का पूर्व परमाणु रणनीतिकारले यस्तो आशंका व्यक्त गरेका हुन् । अमेरिकासँग मिसाइल प्रतिरोधी क्षमता भए पनि उत्तर कोरियाले कुनै मिसाइल प्रयोग नै नगरी अमेरिकालाई तहसनहस बनाउन सक्ने क्षमता विकास गरेको पनि उनको भनाइ छ ।

सीआइएका पूर्वनिर्देशक जेम्स वुल्सीका अनुसार उत्तर कोरियाले अमेरिकाको इलेक्ट्रिक ग्रिड र अन्य आधारभूत संरचनालाई वर्ष दिनसम्म निस्क्रिय तुल्याउन सक्छ । यसबाट भोकमरी, बिमारीजस्ता समस्या उत्पन्न भई प्रत्येक १० जनामध्ये ९ अमेरिकीले मृत्युवरण गर्न सक्छन् ।

अमेरिकी रक्षा विशेषज्ञहरुका अनुसार उत्तर कोरियाले अमेरिकामाथि इलेक्ट्रोनिक म्यागनेटिक पल्स (इएमपी)बाट हमला गर्न सक्ने छ । यो प्रविधिबाट अमेरिकाको साइबर क्षेत्र तहस नहस हुने र पुरै अमेरिका अन्धकारमा डुब्ने खतरा पनि उनीहरुले औंल्याएका छन् ।

अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा नेशनल इएमपी टास्क फोर्सका कार्यकारी निर्देशक डा. पिटर विनसेन्ट प्राइका अनुसार उत्तर कोरियाले आफ्ना उपग्रहलाई नै हतियार बनाउन सक्छ । उत्तर कोरियाले आफ्ना उपग्रहलाई नै परमाणु मिसाइलमा रुपान्तरण गर्ने क्षमता हासिल गरिरहेको उनले बताए ।

उत्तर कोरियाका दुई उपग्रहले अन्तरिक्षबाट अमेरिकामाथि कडा निगरानी गरिरहेको अमेरिकी रक्षा विशेषज्ञ बताउँछन् । यी दुबै उपग्रहले डेढ घण्टाको अवधि मै पृथ्वी परिक्रमा गर्ने क्षमता राख्छन् ।

यस अतिरिक्त उत्तर कोरियासँग रहेका एटम बम पनि अमेरिकाका लागि ठूलो चुनौती बनेको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हालै उत्तर कोरियासँग २५३ एटम बम रहेको आंकलन गरेका छन् । यद्यपि, उत्तर कोरियासँग कति र कस्ता हतियार छन् भन्ने यकिन विवरण आउने गरेको छैन ।

यो तथ्यांकलाई आधार मान्ने हो भने रुस र अमेरिकापछि तेस्रो सर्वाधिक परमाणु हतियार सम्पन्न मुलुकमा उत्तर कोरिया पर्दछ ।

यस अतिरिक्त उत्तर कोरियाली ह्याकर पनि अमेरिकालाई निशाना बनाएर विभिन्न मुलुकमा प्रवेश गरेको बताइन्छ । खासगरी भारत र चीनमा उत्तर कोरियाली ह्याकर प्रवेश गरिसकेको अमेरिकी गुप्तचर एजेन्सीको भनाइ छ । (एजेन्सी)