Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


प्रधानमन्त्री र मन्त्रीसहित उच्च सरकारी पदाधिकारीको तलब बढाउने सिंगापुर सरकारकाे निर्णय

प्रधानमन्त्री वोङकाे तलब २८ लाख अमेरिकी डलर पुग्ने

819
Shares

काठमाडाैं । सिङ्गापुर सरकारले प्रधानमन्त्रीसहित मन्त्री र अन्य उच्च सरकारी पदाधिकारीको तलब बढाउने निर्णय गरेको छ।

साेही निर्णयसँगै प्रधानमन्त्री लरेन्स वोङको वार्षिक पारिश्रमिक करिब ११ लाख अमेरिकी डलर अर्थात् साढे १६ करोड रुपैयाँ भन्दा बढीले बढ्ने बीबीसीले जनाएको हाे। प्रधानमन्त्री वोङले अहिले वार्षिक २२ लाख सिङ्गापुर डलर तलब पाइरहनुभएको छ। अब उहाँको तलब ६० प्रतिशत भन्दा बढीले बढेर ३६ लाख सिङ्गापुर डलर अर्थात् २८ लाख अमेरिकी डलर पुग्ने भएकाे हाे ।

प्रधानमन्त्री वोङले आफ्नो तलबमा भएको यो वृद्धि आगामी पाँच वर्षसम्म परोपकारी कार्यका लागि दान गर्ने बताउनुभएको छ । उहाँले उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्न मन्त्रीहरूको तलब बढाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । तलब वृद्धि आगामी अक्टोबर १५ तारिखदेखि लागू हुने भएकाे छ । सरकारले यसअघि नै मन्त्रीहरूलाई उच्च तलब दिँदा भ्रष्टाचार न्यूनीकरणमा मद्दत पुग्ने तर्क गर्दै आएको हाे । तर रोजगारीको सुरक्षा र बढ्दो जीवनयापनको लागतलाई लिएर गहिरो चिन्ता रहेको सिङ्गापुरमा यो कदमको आलोचना भएको छ ।

नेताहरूको तलब बढाउने निर्णय नागरिकको समस्याप्रति असंवेदनशील भएको आलोचकहरूले बताएका हुन् । आफ्नो तलब वृद्धि लागू हुनुअघि नै पनि प्रधानमन्त्री वोङ विश्वका सबै भन्दा बढी तलब पाउने नेता हुनुहुन्छ । उहाँपछि हङकङका प्रमुख कार्यकारी जोन लीले करिब ७ लाख १९ हजार अमेरिकी डलर र स्विट्जरल्यान्डका राष्ट्रपति गाय पार्मेलिनले झन्डै ६ लाख ६ हजार डलर तलब रहेकाे छ।

त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक तलब ४ लाख अमेरिकी डलर छ भने बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमको तलब झन्डै २ लाख ३० हजार डलर रहेको हाे। त्यसैगरी नयाँ व्यवस्था अनुसार मन्त्रीहरूको आधारभूत तलब पनि झन्डै ११ लाखबाट बढेर १२ लाख सिङ्गापुर डलर पुग्नेछ । कार्यसम्पादनका आधारमा उनीहरूको वार्षिक आम्दानी कार्यकालको अन्त्यसम्म करिब १३ लाख ५० हजार सिङ्गापुर डलरसम्म पुग्न सक्ने बीबीसीले जनाएकाे हाे।

मन्त्रीहरूको पारिश्रमिकको केही हिस्सा देशको बेरोजगारी दर, आम्दानी वृद्धि र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि जस्ता आर्थिक सूचकमा आधारित हुने भएकाे छ ।