सविना अछामे, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा खुकुरी प्रहार गरी चार जनालाई घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार कात्तिक ९ गते बिहान ४३ वर्षीय नइन्द्रकुमार राई पक्राउ परेका हुन्। उनले गएराति करिब १२ः३० बजे ४० वर्षीया अन्जना राई, ६२ वर्षीया सेवन्त राई, २५ वर्षीया टेमिना राई र नरेन्द्र राईमाथि खुकुरी प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घाइतेमध्ये टेमिना राईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। उनलाई दुर्छिमस्थित नगर अस्पतालमा प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ। अन्य तीन जनाको उपचार नगर अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरू आरोपित नइन्द्रकुमारका परिवारका सदस्य हुन्। अन्जना उनकी श्रीमती, टेमिना साली, सेवन्त सासू र नरेन्द्र जेठान हुन्।
खुकुरी प्रहारबाट अन्जना र टेमिनाको टाउकोमा गम्भीर चोट लागेको छ। सेवन्तको टाउको र दाहिने हातमा तथा नरेन्द्रको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्