काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–३२ स्थित एक गेस्टहाउसबाट १२० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
कात्तिक ९ गते राति विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले विश्राम गेस्टहाउसको कोठा नम्बर ६ मा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका–५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन्। सशस्त्र प्रहरीका अनुसार उनीहरूलाई बिक्री वितरणका लागि राखिएको ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
उनीहरूको साथबाट १२० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल फोन र चार हजार ५५० रुपैयाँ नगद बरामद भएको छ।
बरामद लागूऔषध तथा अन्य सामग्रीसहित दुवै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।











प्रतिक्रिया दिनुहोस्