काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर सम्पर्कविहीन रहेका व्यक्तिहरूलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र उपस्थित हुन आग्रह गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणको अनुमतिमा विभिन्न मितिमा पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन भनेको हो। सूचनामा उल्लेख भएअनुसार तोकिएको समयसीमा सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेछ।
विभागले निर्धारित अवधिभित्र उपस्थित नभए सम्बन्धित व्यक्तिविरुद्ध वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
सम्पर्कमा नआउने व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने, यात्रा अनुमति रोक्ने तथा कानुनबमोजिम अन्य आवश्यक कदम चाल्न सकिने विभागले स्पष्ट पारेको छ।
वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा सहभागी गराउने उद्देश्यले विभागले यस्तो सूचना जारी गरेको हो।












प्रतिक्रिया दिनुहोस्