
हत्या, चन्दा असुली, धम्कीलगायतका मुद्दामा प्रहरीको फरार सूचीमा रहेका मनोज पुन प्रहरी कारबाहीमा मारिएको समाचार बुधबार बिहानै फैलियो ।
वर्षौंदेखि भारतमा रही नेपालमा गुन्डागर्दी र हत्यामा संलग्न रहेको आरोप लागेका उनी रुपन्देहीको देवदह–४ भवानीपुरमा प्रहरीको गोली लागेर उनका सहयोगी सोम आलेसहित मारिएका हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का डीएसपी अंगुर जिसीको नेतृत्व टोलीले पुनलाई इन्काउन्टर गरेको हो ।
आपराधिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ ।
‘गुन्डानाइके’ मानिने पुन युवासंघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवासंघकै कार्यकर्ता वसन्त पौडेलको हत्या गरेको आरोपमा झन्डै डेढ वर्षदेखि प्रहरीको खोजीमा थिए ।
उनीमाथि निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न रहेको आरोप पनि छ ।
त्यसो त मनोज पुन पछिल्लो समय प्रहरीको इन्काउन्टरमा मारिने पहिलो व्यक्ति हैनन्, थप एक पात्रमात्र हुन् ।
यसअघि, वि.सं. २०७१ साउन २१ गते काठमाडौंको भीमढुंगामा दिनेश अधिकारी ‘चरी’को इन्काउन्टरपछि पाँच गुन्डानाइके प्रहरीको शिकार भइसकेका छन् ।
सर्वेन्द्र खनाल एसएसपीकोरुपमा अपराध महाशाखा प्रमुख हुँदा चरी धादिङ र काठमाडौंको सिमाना पर्ने भीमढुंगामा मारिएका थिए ।
चरीभन्दा केही महिना पछाडि अर्का चर्चित गुन्डानाइके कुमार श्रेष्ठ ‘घैंटे’ मारिए । २०७२ साल भदौ ३ गते प्रहरीले सामाखुसी आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका घैंटेलाई काठमाडौंको कपुरधारामा गोली हानेको थियो ।
घैंटे मारिएको केही समयपछि गत असोजमा ललितपुरमा प्रहरी इन्काउन्टरमा लागुऔषध कारोबार गर्ने प्रवीण खत्री मारिए ।
अघिल्ला इन्काउन्टरमाझैं मनोज पुन प्रहरीको नियन्त्रणमा मारिए वा साँच्चिकै भिडन्तमा परे भन्ने प्रश्न त उठेको छ । तर, स्थानीय वासिन्दामा भने त्योभन्दा बढी गुन्डाराजको एउटा अध्याय सकिएकोमा हर्षोल्लासको अवस्था देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्