काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनजस्तो देखिने पहेँलो पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको जिलिन प्रान्तका ५८ वर्षीय जियानहुआ वाङ रहेका छन् । उनी नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत हङकङबाट काठमाडौं आएका थिए ।
विमानस्थल सुरक्षा जाँचका क्रममा उनले आफ्नो मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
विमानस्थल भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा प्लास्टिकको खोलसहित चारवटा गोलाकार अर्धठोस पदार्थ बरामद गरिएको हो । बरामद पदार्थको कुल तौल १ किलो ८०३।७७ ग्राम रहेको छ ।
पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्