नविन कुमार शर्मा, दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा बुवाले बन्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान घरायसी विवादका क्रममा परिवारका सदस्यलाई बन्चरो प्रहार गरेका थिए ।
उनको प्रहारबाट १२ वर्षीय छोरा तपेन्द्र सलामी र तीन वर्षीया छोरी करिश्मा सलामी गम्भीर घाइते भएका थिए । उपचारका लागि दुल्लु नगर अस्पताल पुर्याइएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा अम्बरकी ३५ वर्षीया श्रीमती मनिषा सलामी र ६ वर्षीय छोरा मिलन सलामी पनि घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ ।
घरायसी विवादका क्रममा घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार विकले जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्