Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


भारतसँग नेपालको लज्जास्पद हार, २६ रनमै समेटियो नेपाली टोली


0
Shares

काठमाडौं । एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले भारतविरुद्ध निकै निराशाजनक प्रदर्शन गरेको छ । ३३३ रनको विशाल लक्ष्यसहित मैदानमा उत्रिएको नेपाली टोली ब्याटिङमा पूर्ण रूपमा असफल हुँदै ११.३ ओभरमा २६ रनमै सीमित भयो ।

भारतले प्रस्तुत गरेको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याटरहरू क्रिजमा टिक्न सकेनन् । सुरुदेखि नै भारतीय बलरको दबाब झेलेको नेपालले नियमित अन्तरालमा विकेट गुमाउँदा प्रतियोगिताकै सबैभन्दा खराब प्रदर्शनमध्ये एक व्यहोर्नुपर्‍यो । भारतीय टोलीविरुद्ध नेपालको यो अहिलेसम्मकै फराकिलो हार बनेको छ ।

नेपालको इनिङ्समा पवन सर्राफ र रासिद खानले समान ६ रन जोड्नु नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो । प्रतिश जीसीले ४ तथा नन्दन यादव र ललित राजवंशीले समान २ रन बनाए । ललित अविजित रहे । दीपक डुम्रेले १ रन जोड्दा कुशल भुर्तेल, अर्जुन कुमाल, बसिर अहमद, लोकेश बम र सन्दीप लामिछाने रनको खाता खोल्नै नपाई पवेलियन फर्किए ।

भारतको बलिङमा प्रिन्स यादव सर्वाधिक प्रभावशाली रहे । उनले ५ ओभरमा ६ रन खर्चेर पाँच नेपाली ब्याटरलाई आउट गरे । हर्षित राणाले चार विकेट लिँदा सहबाज अमिदको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३२ रनको योगफल तयार पारेको थियो । भारतीय इनिङ्सलाई मजबुत बनाउने क्रममा कुमार कुशर्गा र तिलक वर्माले शतकीय पारी खेले । कुशर्गाले ११७ रन बनाउँदा वर्माले १०७ रनको योगदान दिए ।

त्यस्तै सूर्यान्स शेगडेले ३६ र वैभव सूर्यवंशीले २६ रन जोडेपछि भारतले नेपालसामु ठूलो लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो ।

बलिङतर्फ नेपालका ललित राजवंशी र सन्दीप लामिछानेले तीन–तीन विकेट हात पारे । नन्दन यादवले दुई तथा पवन सर्राफले एक विकेट लिए ।

Skip This